Banner News

देउवाले भने –चीनसंगको सम्बन्ध झनै विस्तार हुनेछ



काठमाडौ, ७ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले चीनसँगको सम्बन्ध झनै विस्तार हुने विश्वास व्यक्त गर्नु भएको छ ।

प्रधानमन्त्री देउवाले चीनका सहायक विदेश मन्त्री कोङ सोन्यूसँगको शिष्टाचार भेटमा चीनले नेपालको राजनीतिक स्थायित्व र दीगो विकासका लागि सक्दो सहयोग गर्दै आएको पनि उल्लेख गर्नुभयो ।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको भेटमा उहाँले चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ को अवधारणा कार्यान्वयनमा लैजान नेपालको साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवासँगको शिष्टाचार भेटमा चीनका सहायक विदेश मन्त्री कोङले नेपाल अब छिट्टै आर्थिक समृद्धिको दिशामा अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

सहायक विदेश मन्त्री कोङ नेपाल(चीन परामर्श संयन्त्रको बैठकमा सहभागी हुन सोमबार नेपाल आउनुभएको थियो । यसैबीच, चीनका सहायक विदेश मन्त्री कोङ सोन्यूले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग पनि शिष्टाचार भेट गरी नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे चासो व्यक्त गर्नुभएको छ ।

बुधबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको परराष्ट्रमन्त्री महराको निजी सचिवालयले जानकारी दिएको छ ।