कालीकाेट, २३ असार । थाहा नभएको रोग फैलिएको कालीकोटको तिलागुफा नगरपालिका–१० को रुडु र रानावाडा गाउँमा डाक्टरको टोली पुगेको छ ।
तिलागुफा नगर अस्पतालका प्रमुख डा. टङ्कप्रसाद आचार्यका अनुसार तिलागुफा नगर अस्पताल र जिल्ला अस्पताल कालीकोटबाट खटिएको डाक्टरको टोलीले बिरामीको नमूना संकलनसँगै उपचार थालेको छ ।
हिजो ३ सय ११ जना बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको छ । स्वास्थ्य जाँच शिविर आज पनि चल्नेछ । एक हप्तादेखि फैलिएको रोगबाट १३ वर्षीया कर्मा थापाको ज्यान गएको थियो । गाउँभरि बिरामी छन् । बिरामी हुनेमा महिला र बालबालिका धेरै छन् । बिरामीको स्वास्थ्य जाँच र उपचार भइरहेको छ ।
ज्वरो आउने, टाउको दुख्ने, अनुहारमा दाग देखिने र हातखुट्टा सुनिने लक्षण रहेको केही नमूना सङ्कलन गरेर प्रयोगशालामा परीक्षणका लागि पठाइएको र त्यसपछि मात्र कुन रोग हो भन्ने यकीन हुने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्