अर्थ

महावीर पुन को मुट्ठीदान अभियान अबधि एक वर्ष थप



काठमाडौँ, ८ असार । राष्ट्रिय आविष्कार केन्द्रले गत वर्षदेखि सञ्चालन गरेको ‘मुट्ठीदान अभियान’ को अबधि एक वर्ष थप गर्ने भएको छ ।

केन्द्रलाई आर्थिक सहयोग जुटाउने उद्देश्यले गत वर्ष साउनदेखि एक वर्षसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा अभियान सुरु गरिएकोमा लक्ष्य गरिएअनुसार सहयोग नजुटेपछि पुनः एक वर्ष थप गर्न लागिएको हो ।

केन्द्रले यही असार मसान्तभित्र रु ५० करोड सङ्कलन गर्ने लक्ष्य राखेकोमा अहिलेसम्म रु चार करोडभन्दा बढी सङ्कलन भएको छ । स्वदेशभित्र वैज्ञानिक उत्पादन गर्ने लक्ष्यका साथ विभिन्न खोज, अनुसन्धान तथा आविष्कार गर्न चाहने विद्यार्थीलाई सहयोग गर्ने उद्देश्य केन्द्रले राखेको छ ।

केन्द्रका अध्यक्ष तथा म्यागसासे पुरस्कार विजेता महावीर पुनले आगामी वर्ष २०७५ सालको असार मसान्तसम्म अभियानको समयसीमा थप गरिएको जानकारी दिँदै विभिन्न सङ्घसंस्थालाई सहयोग गर्न आग्रह गरे।

सो अभियान सफल बनाउन केन्द्रका अध्यक्ष पुनले प्राप्त गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका पुरस्कारसमेत बिक्रीका लागि राखिएको छ । ग्रामीण भेगमा ताररहित इन्टरनेट सेवा सञ्चालन गरी सूचना तथा सञ्चारको पहुँच पु¥याउँदै आएको सो संस्थाले विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ ।