राजनीति

पार्टी दक्षिणपन्थी र माओवादीको पछिलागेर कार्यकर्ता एमालेमा जान थाले



काठमाडौँ, २१ साउन  । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमालेबाट विद्रोह गरेर बनेको पार्टी दक्षिणपन्थी बनेको आरोप लगाएका छन् ।

साथै उनले नेकपा एकीकृत समाजवादी स्वतन्त्र पहिचान बनाउन असफल भएको भन्दै माओवादी केन्द्रको पिछलग्गु बनेकोमा आक्रोश व्यक्त गरेका छन् ।

शनिबारबाट सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा १६ पेज लामो लिखित ‘वर्तमान परिस्थिति र हामीले ध्यान दिनुपर्ने ज्वलन्त विषयहरू’ दस्ताबेज पेस गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका खनालले भनेका छन्, ‘आखिर हाम्रो पार्टी दक्षिणपन्थी र माओवादीको पिछलग्गु जस्तो भएर अघि बढ्यो ।’ साथै उनले नेपाली कांग्रेस र माओवादी दुवैले आफ्नो पार्टीलाई देशैभर धोखा दिएको पनि बताएका छन् ।

‘हाम्रो पार्टीलाई मतदाता मात्र बनाए । त्यसले हाम्रो पार्टीको बन्दै गरेको क्रान्तिकारी छवि र साख नराम्ररी गिराइदियो’, खनालले भनेका छन्,  ‘कार्यकर्ताहरू देशव्यापी रूपमा निराश भए । त्यसपछि “बरु एमाले तिरै जाने” भन्ने चिन्तनको विकास हुन थाल्यो र पलायन बढ्दै गयो ।’ त्यस्तै सम्मानित नेता खनालले एमसीसी सम्झौतालाई कलङ्कको संज्ञा दिएका छन् ।