समाचार

भारी वर्षाले अधिकांश नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह



काठमाडौँ, २३ साउन । देशका विभिन्न भू–भागमा अहिले भारी वर्षा भइरहेको छ । भारी वर्षासँगै देशका विभिन्न क्षेत्रमा रहेका नदीहरूमा पानीको बहाव बढेको छ । 

हाल बागमतीको जलमापन केन्द्रमा जलसतहले खतरा  तह पार गरेको र बढ्दो क्रममा रहेकाले रौतहट र सर्लाहीका बागमती नदी  तटीय क्षेत्रमा हुनेहरूले आज बेलुका सम्मै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । 

त्यस्तै बर्दियाको बबई र कर्णाली नदीको बाढी खतराको तहसम्म पुगेको छ । दाङका लमही र लालमटिया तथा बाँकेको कुसुमस्थित वर्षा मापन केन्द्रमा पनि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कमला नदी, सिन्धुली रानीबासस्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । सिन्धुलीबाट तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा रहनेहरू बिहान अबेरसम्म सतर्कता अपनाउनु पर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।