काठमाडौँ, २३ साउन । गौर हत्याकाण्ड पीडित संघर्ष समिति र सरकारबीच पाँचबुँदे सहमति भएको छ ।
आज गृह मन्त्रालयमा मन्त्रालय र संघर्ष समितिबीच पाँचबुँदे सहमति भएको हो । उक्त सहमतिपत्रमा गृह मन्त्रालयको तर्फबाट सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई र संघर्ष समितिको तर्फबाट अध्यक्ष रुपसागर देवीले हस्ताक्षर गरेका छन् । सहमतिसँगै संघर्ष समितिले आन्दोलनका कार्यक्रम फिर्ता लिने भएको छ ।
सम्झौता :
मिति २०६३ साल चैत्र ७ गते रौतहट जिल्लाको गौरमा भएको घटनामा परी मृत्यु तथा घाइते भएका व्यक्तिहरुका सन्दर्भमा आन्दोलनरत गौर हत्याकाण्ड पीडित संघर्ष समिति र नेपाल सरकार, गृह मन्त्रालयबीच आज मिति २०८० साउन २३ गते निम्नानुसारको सम्झौता भयो ।
१. उक्त घटनाको विषयमा तत् समयमा दर्ता भएका जाहेरी समेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणको आधारमा दोषीलाई कानुनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने,
२. मिति २०६३ चैत्र ७ गतेको गौर घटनामा मृत्यु भई नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०६५ पुस ९ गतेको बैठकबाट सहिद घोषणा गरिएका व्यक्तिको विवरण नेपाल राजपत्रमा प्रकाशन गर्ने । उक्त घटनामा मृत्यु भएका तर सहिद घोषणा हुन छुट भएका मृतकहरुका हकमा सहिद घोषणाको प्रकृया अगाडि बढाउने,
३. गौर घटनामा परी मृत्यु भएका व्यक्तिहरुको स्मृतिमा रौतहट जिल्लामा सहिद स्मारक स्तम्भ निर्माण गर्ने कार्यको प्रक्रिया यसै आवमा अगाडि बढाउने,
४. उक्त घटनामा परेर घाइते भएका उपचाररत व्यक्तिको लागि उपचारको उचित प्रबन्ध गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने र आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुरोध गर्ने,
५. सो घटनाको छानबिन र कारबाहीको मागसहित गौर हत्याकाण्ड पीडित संघर्ष समितिले गरेका आन्दोलनका सबै कार्यक्रम तत्काल अन्त्य गर्ने ।










प्रतिक्रिया दिनुहोस्