Banner News

मुग्लिन सडक खण्डको यात्रा भगवान भरोसामाः एघार घन्टाको जामपछि सडक खुल्यो



चितवन,११ असार । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत विभिन्न ठाउँमा खसेको पहिरो पन्छाएपछि आइतबार बिहान ८ः०५ बजेबाट यातायात सञ्चालनमा आएको छ । पहिरोका कारण शनिबार राति ९ बजेदेखि बन्द भएको यातायात पहिरो हटाएर ११ घन्टापछि सञ्चालनमा आएको हो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार अहिले दुईतर्फी नै बाटो खुलाइएकाले गाडीहरु गन्तव्यतर्फ जान थालेका छन् । उहाँले यातायात सहज हुन अझै केही घन्टा लाग्ने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलो, दुई किलो, खहरे र कालीखोलामा पहिरो खसेर रातिदेखि नै सडक अवरुद्ध भएको थियो । दुईतर्फबाट डोजरले पहिरो पन्छाएको थियो ।

जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी दीपक थापाका अनुसार पहिरो खस्ने क्रम जारी रहेकाले राति पन्छाउन नसकेपछि बिहान ४ बजेबाट मात्रै पहिरो पन्छाउने काम सुरु गरीएको थियो । चार घन्टाको लगातार प्रयासपछि यातायात सञ्चालनमा आएको हो ।

यसैबीच ट्राफिक प्रहरीले नारायणगढ–मुग्लिन सडकमा पहिरो आउने क्रम जारी रहेकाले वैकल्पिक मार्ग प्रयोग गर्न अपिल गरेको छ ।