Banner News

सिद्धार्थनगरमा चुनावी प्रतिस्पर्धा तीव्र



भैरहवा, ११ असार । दोस्रोचरणको स्थानीय निकाय निर्वाचनका लागि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा राजनीतिक सरगर्मी उत्कर्षमा पुगेको छ ।

राजनीतिक दलहरुले मतदातालाई आफ्नो पक्षमा पार्न चुनावी अभियानलाई समेत तीव्रता दिएका छन् । मुख्य शक्तिको रुपमा राप्रपा देखिएको यस नगरमा नेपाली काँग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र मधेसवादी दल पनि प्रतिस्पर्धामा रहेका छन् ।

नेपालकै पुरानो नगरपालिका भए पनि राजनीतिक दलको भागबण्डामा उपमहानगरपालिकामा हुन नसकेको यो नगर स्थापना कालदेखि ने १३ वटा वडामा बिभाजित छ ।
कूल ६७ जना जनप्रतिनिधि विजय हुने यस नगरमा ४२५ जनाको उम्मेदवारी दर्ता भएकोे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उम्मेदवारी दिएकामध्ये तीनजनाको उम्मेदवारी खारेज गरिएको छ भने– दुई वडा अध्यक्ष, दुई सदस्य र एक दलित महिला सदस्यको उम्मेदवारी फिर्ता भएको सो कार्यालयका साहयक निर्वाचन अधिकृत नगेन्द्रराज कोइरालाले जानाकारी दिए ।

सो नगरमा स्वतन्त्र उम्मेदवारी दिने ३० जनालाई चुनाव चिन्ह प्रदान गरिएको उहाँले बताए । कुल मतदाता ३३ हजार ६१५ रहेको सिद्धार्थनगर नगरपालिकामा पहाडी, मुस्लिम, मधेसी र थारु समुदायको बसोवास छ । तीमध्ये पुरुष १७ हजार ६४७ र महिला १५ हजार ९९८ रहेको कार्यालयका प्रमुख हुमानाथ गौतमले जानाकारी दिए।

नगर प्रमुखमा नेपाली काँग्रेसबाट मातृका यादव, एमालेबाट हरि अधिकारी, माओवादी केन्द्र बाट फैज अहमद खाँन, राप्रपाबाट सागर प्रताप राणा, सङ्घीय समाजवादी फोरमबाट अर्जनप्रसाद जैसवाल, फोरम लोकतान्त्रिकबाट पुनम अग्रवाल, राष्ट्रिय जनमुक्ति पार्टीबाट कृष्णबहादुर गुरुङ, राष्ट्रिय जनमोर्चाबाट तारानाथ आर्चाय, स्वतन्त्रमा सुमन न्यौपाने र बिना नेपालको उम्मेदवारी दर्ता भएको छ ।

उपप्रमुखमा नेपाली काग्रेसबाट माधवी शर्मा, एमालेबाट उमा काफ्ले, माओवादी केन्द्रबाट कमला थापा, राप्रपाबाट रमिता थापामगर, सङ्घीय समाजवादी फोरमबाट मीना विश्वकर्मा, राष्ट्रिय जनमोर्चाबाट लक्ष्मी ढुङगाना, राष्ट्रिय जनमुक्तिबाट सिमा थापा, लोकतान्त्रिक फोरमबाट श्रीराम गुप्ता, स्वतन्त्र उम्मेदवारमा भवानी रिजाल, राम अवत गुप्ता र अन्नतराज खनालको उम्मेदवारी परेको छ भने अर्का स्वतन्त्र उम्मेदवारका रुपमा राजपाका रामअवत गुप्ताले उपप्रमुखमा उम्मेदवारि दिएका छन।