राजनीति

निर्वाचनको तयारी पुरा



सोलुखुम्बु, १२ असार । यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको तयारी पूरा भएको छ ।

निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी टोली मतदानस्थलमा पुगिसकेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी जगनाथ दाहालले जानकारी दिए ।

निर्वाचनसम्बन्धी प्रशिक्षण लिएर मतपत्र, परिचयपत्रलगायत आवश्यक सामग्रीसहित मतदानस्थल पुगेका कर्मचारी अहिले मतदाता परिचयपत्र वितरणको काम गरिरहेका छन् ।

जिल्लाको आठ स्थानीय तहमा ६१ हजार ७४६ मतदाता रहेका छन् । जिल्लामा ११८ मतदानस्थलमा १२० मतदान केन्द्र रहेको छ । सबै मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित ६६६ जना कर्मचारी परिचालन गरिएको छ ।

जिल्ला सुरक्षा समितिले निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । अतिसंवेदनशील, संवेदनशील र सामान्य क्षेत्रको पहिचान गरी सुरक्षा व्यवस्था मिलाइएको समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनुभयो । यहाँका २० मतदान केन्द्र अतिसंवेदनशील, ४४ कम संवेदनशील र ५६ केन्द्र सामान्य रहेका र सोही अनुसारको सुरक्षा व्यवस्था तैनाथ गरिएको उनको भनाइ छ ।

शान्ति सुरक्षा कायम गरी भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न गराउन जिल्लामा एक हजार २०० नेपाल प्रहरी, ५९८ म्यादी प्रहरी, १८० सशस्त्र प्रहरी तथा नेपाली सेना परिचालन गरिएको छ ।