Banner News

ओलीले भने –अहिले देशमा सरकार तानाशाहको रुपमा हावी भएको छ



काठमाडौं,१२ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा आईतवार आफुमाथी बम आक्रमण प्रयास भएको खुलासा गरेका छन् । प्रेस चौतारी नेपालले आज एमाले पार्टी कार्यालय धुम्वाराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले यस्तो खुलासा गरेका हुन् ।

‘हिजो मात्र बुटवलमा मेरो मञ्च पछाडि तीन वटा बम राखिएको रहेछ, बेलैमा नेपाली सेनाले निष्क्रिय पारेर केही हुन पाएन, नत्र ठुलो दुर्घटना हुने रहेछ , ओलीले भने ,।’ स्थानीय तहको दोश्रो निर्वाचनको नजिकमा देशका विभिन्न भागमा बम विस्फोट गराइएको तर सरकारले अपाराधिहरु पत्ता लगाउन नसकेको बताए ।

उनले जे शीर्षक दिएपनि यस्ता घटना राजनीति नभई अपराध कर्म भएको बताए । दोलखामा पहिलो चरणको निर्वाचनको क्रममा एमाले कार्यकर्ताको हत्या भएको र हत्यारालाई समातेर प्रहरीमा बुझाउँदा बुझाउनेलाई नै उल्टै ज्यान मार्ने उद्योगमा मुद्दा चलाएकोमा ओलीले आक्रोश व्यक्त गरे । उनले त्यसलाई सरकारको उत्ताउलोपन भएको दावी गर्दै भने, ‘छिचिमिरालाई काल आयो भने प्वाँख पलाउँछ भन्थे, अहिलेको यो सरकारको पनि प्वाँख पलाएको छ ।’ ओलीले अगाडि भने, अहिले देशमा सरकार तानाशाहको रुपमा हावी भएको छ । जुनसुकै रुपमा होस् तानाशाह भनेको तानाशाह हो, इराकमा सद्दाम हुसेनका कुरा के गर्नु हाम्रैमा धेरै हुसेनहरु भैसके ।

स्थानीय तहको निर्वाचनमा निश्पक्ष स्वच्छ र धाँधली रहीतको बातावरण श्रिजना गर्न निर्वाचन आयोगलाई ओलीले आग्रह गरे । ‘निर्वाचन आयोगको काम भनेको मतपत्र छाप्ने बाँड्ने र बाकस थाप्ने मात्र हौइन, धेरै जिम्मेवारी छन् ।’ ओली आफ्नो पक्षमा प्रहरी प्रसाशन, निर्वाचन आयोगलाई दवाव दिने र प्रभाव पार्ने काम आफुहरुबाट नहुने प्रतिवद्धता व्यक्त गर्दै सत्तापक्षबाट पनि त्यस्तो व्यवहारको अपेक्षा गरेको बताए । ओलीले निर्वाचन निश्पक्ष गर्नका लागि आफ्नो तर्फबाट आयोगलाई पुर्ण सहयोग हुने बताए ।