सम्पादकीय

स्थानीय निर्वाचनः तीन घेराको सुरक्षा प्रबन्ध



काठमाडौं, १३ असार । गृहमन्त्री जनार्दन शर्माले १४ असारमा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा ढुक्क भएर मतदान गर्न मतदातालाई आह्वान गरेका छन् ।

उनले निर्वाचन सुरक्षाका लागि पहिलो चरणमा जस्तै पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई परिचालन गरिने बताए ।

निर्वाचन हुने स्थानीय तहमा सबै सुरक्षा प्रबन्ध मिलाइएको भन्दै उनले निर्धक्क मतदानमा सहभागी हुन आह्वानसमेत गरे । ‘निर्वाचनका लागि सुरक्षाको कुनै समस्या छैन । सरकारले सबै प्रबन्ध मिलाएको छ, सुरक्षा व्यवस्था चुस्त छ,’ सोमबार राजधानीमा आयोजित एक साक्षात्कारमा उनले भने ।

उनले निर्वाचन शान्तिपूर्ण रूपमा सफल बनाउन र मतदातालाई ढुक्क भएर मत हाल्न अपिलसमेत गरे । मतदानमा जाने क्रममा कुनै बाधा, अवरोध नआउनेबारे आश्वस्त पार्दै उनले भने, ‘तपाईंहरूले आफ्नो मताधिकारको प्रयोग स्वतन्त्र र भयरहित वातावरणमा निर्भीक रूपमा गर्न पाउनु हुनेछ । त्यसका लागि जस्तोसुकै सुरक्षा दिन पनि सरकार तयार छ ।’

उनले सुरक्षाको दृष्टिकोणले निर्वाचनबारे तर्साउने प्रयत्न भएकाले सुरक्षा योजना थप परिष्कृत र परिमार्जन समेत गरिएको जानकारी दिए । ‘सुरक्षामा अब कुनै समस्या छैन, मतदानस्थल सुरक्षित छन, मतगणना गर्न पनि सुरक्षा बलियो बनाइएको छ,’ उनले भने ।

पहिलो चरणको निर्वाचनबाट धेरै कुरा सिकेको बताउँदै गृहमन्त्री शर्माले यसपटक सुरक्षा निकायको प्रयोग दरिलो र बलियो बनाइएको दाबी गरे । निर्वाचन सुरक्षामा कति सुरक्षाकर्मी परिचालित छन् भन्ने विषयमा केही नबोले पनि उनले सुरक्षामा कुनै चुनौती नरहेका बताए ।

उनले राष्ट्रिय जनता पार्टी नेपालसँगको सहमतिमा नै प्रदेश–२ को निर्वाचन तेस्रो चरणमा तोकिएको जानकारी दिए । ‘प्रधानमन्त्री शेरबहादुर देउवा र राजपाबीचको सहमतिमा नै प्रदेश २ को निर्वाचन तेस्रो चरणमा राखिएको हो । अहिलेको दोस्रो चरणको निर्वाचनमा उहाँहरूले स्वतन्त्र रूपमा उम्मेदवारी दिनुभएको छ,’ शर्माले भने ।

दोस्रो चरणको निर्वाचनमा सबै पार्टीको उत्साहजनक सहभागिता रहेको उल्लेख गर्दै मन्त्री शर्माले मतदाताहरूलाई मतदान केन्द्रदेखि मतगणनासम्म सरकारले सुरक्षाको प्रबन्ध गरिसकेको र आवश्यक मात्रामा सुरक्षाकर्मी खटाइएको बताए । राजधानीमा समाचार छ ।