सम्पादकीय

अपहरणदेखी लुटपाटसम्म बिप्लबका कार्याकर्ता



कमिशनको चक्करमा व्यापारी अपहरण

काठमाडौं, १३ असार । पछिल्लो समय राजनीतिक आडमा बिप्लव माओवादीका कार्याकर्ता जघन्य अपराधमा मुछिदै आएका छन् ।

अपहरणदेखी लुटपाटमा बिप्लवका कार्याकर्ता जोडिन थालेपछि सुरक्षा चुनौति समेत थपिएको छ । बन्दुकको नालबाटै राज्यसत्ता प्राप्त गर्ने लक्ष्य बोकेका नेत्रबिक्रम चन्दसमेत कार्यकर्ताको कारण बदनाम बन्दै गएका छन् ।

गत शनिवार बिहान राजधानीको गोंगबु, नयाँबसपार्कको एक होटलमा नौ महिनादेखि बसिरहेका जडीबुटी व्यापारी दम्पती कविता दाहाल र गोपालबाबु श्रेष्ठ बिप्लव माओवादी कै सहयोगमा होटलबाटै अपहरणमा परे ।

अपहरणमा परेको तीन घण्टामै महानगरीय प्रहरी अपराध महाशाखाले उनीहरुलाई तीन घण्टामै मुक्त गर्न सफल भयो । व्यापारी अपहरणबाट मुक्त भएपछि बिप्लव माओवादीका कार्याकर्ताको हात रहेको अनुसन्धानबाट खुल्यो ।

अपहरणमा संलग्न विप्लव माओवादीका शक्ति विश्वकर्मा र उनलाई सघाउने अन्य तीन जना पक्राउ परे । योजना बनाउने विप्लव माओवादीको भ्रातृ संगठन राष्ट्रिय युवा जनस्वयंसेवकका सचिव रजमान तामाङ र राजेश भन्ने कार्यकर्ता भने फरार भएको महाशाखाले जनाएको छ ।

फसेको रकम उठाइदिएर कमिसन खाने चक्करमा विप्लव माओवादीका कार्यकर्ताले व्यापारी अपहरण गरेको महाशाखाको अनुसन्धानबाट खुलासा भयो ।
अपहरणको रहस्य अपहरणको यो खेल तीन वर्षअघिको घटनासँग जोडिएको छ ।
कलंकी, सुनारगाउँका मदनकृष्ण महर्जन र अञ्जु देउला महर्जन दम्पतीले कालीमाटीमा रहेको कस्मेटिक पसल साढे तीन लाख रुपैयाँमा बेचेका थिए । पसल खरिद गरेकी थिइन भक्तपुर चाँगुनारायण नगरपालिका २ झौखेलकी कविता दाहालले । कविताले आफ्नी छोरीका लागि भन्दै उधारोमा पसल किनिदिएकी थिइन् ।

जडीबुटी व्यापारमा संलग्न कविता र गोपालले महर्जन दम्पतीलाई पसल किनेबापतको रकम लामो समयसम्म तिरेनन् । बरु उल्टै जडीबुटीमा लगानी गरे मनग्य कमाइ हुने भन्दै थप ५ लाख रुपैयाँ फुस्काए ।

त्यति मात्र होइन, महर्जन दम्पतीमार्फत अञ्जु भारतीबाट पनि १० लाख रुपैयाँ हात पार्न सफल भए ति दम्पती । यसरी साढे १८ लाख रुपैयाँ लिएपछि कविता र गोपाल भने महर्जन दम्पतीको सम्पर्कबाट टाढिन थाले । पैसा तिर्ने भाका कैयन् पटक गुज्रिए पनि उनीहरूले रकम फिर्ता गरेनन् । बरु उल्टै तर्केर हिँड्न थाले ।

स्रोतका अनुसार फसेको रकम उठाउन महर्जन दम्पती र भारतीले कालीमाटी प्रहरीचौकीमा पनि उजुरी दिएका थिए । तर प्रमाण अभाव भन्दै प्रहरीले मुद्दाको अनुसन्धान अगाडि बढाएन । रकम नउठेपछि आत्तिएका उनीहरू विप्लव माओवादीका कार्यकर्ता राजेश भन्ने व्यक्तिको सम्पर्कमा पुगे ।

राजेशले उनीहरूलाई विप्लव माओवादीको भ्रातृ संगठन राष्ट्रिय युवा जनस्वयंसेवकका सचिव रजमान तामाङसँग भेटाइदिए । अपहरण गरेर भए पनि फसेको पैसा उठाइदिने र त्यसबापत कमिसन लिने सर्तमा रजमान र राजेशले अपहरणको योजना बनाएका थिए । त्यसमा सघाउन उनीहरूले विप्लव माओवादीआबद्ध शक्ति विश्वकर्मालाई पनि प्रयोग गरेका थिए ।

योजनाअनुसार शनिबार बिहान १० बजे यो टोली महर्जन दम्पती र भारतीलाई लिएर कविता र गोपाल बसेको होटल पुगेको थियो । अपहरणपछि उनीहरूलाई काठमाडौंका विभिन्न ठाउँ घुमाउँदै पकनाजोल पु¥याइएको थियो । पकनाजोलमा शंका हुने देखेर पुतलीसडकस्थित शंकरदेव क्याम्पसछेउको राष्ट्रिय युवा जनस्वयंसेवकको कार्यालयमा पुयाइयो ।

प्रहरी स्रोतका अनुसार रजमानले दाहाल दम्पतीसँग ९६ लाख रुपैयाँ तिर्न बाँकी रहेको कागज गराउने तयारी थालेका थिए । तर, त्यस्तो कागज गर्नुअघि होटलमा रहेको केही कागजात ल्याउनुपर्ने भनेपछि गोपाललाई लिएर शक्ति र मदनकृष्ण होटलमै पुगे । अञ्जु, भारती र कविता कार्यालयमै बसे । होटल पुगेका तीनै जनालाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गर्यो ।
कवितालाई भने अञ्जु र भारतीको टोलीले अन्तै सार्न लागिरहेका बेला प्रदर्शनीमार्गबाट प्रहरीले नियन्त्रणमा लियो । मुख्य योजनाकार रजमान र राजेश भने अझै फरार छन् । अपहरणकारी र अपहरित दुवै पक्षलाई महानगरीय अपराध महाशाखाले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

अपहरणमा परेका दम्पतीमाथि काठमाडौं प्रहरी परिसरमा समेत ठगी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । काभ्रे, धुलिखेलका माधवप्रसाद श्रेष्ठ र मञ्जु श्रेष्ठ दम्पतीबाट पनि उनीहरूले २७ लाख रुपैयाँ र ६५ तोला सुन लगेको भन्दै ३ असारमा उजुरी परेको थियो ।

प्रहरीले अपहरणमुक्त भएका दुवै जनालाई ठगीको आरोपमा मुद्दा चलाउने तयारी थालेको छ । अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यका अनुसार व्यक्तिगत फाइदाको लोभमा अपहरणको प्रयास भएको देखिन्छ । फसेको रकम उठाउने नाममा व्यक्तिको अपहरण गैरकानुनी भएको जनाउँदै उनले भने, ‘जस्तोसुकै काममा पनि कानुन उल्लंघन गर्नेहरू दोषी नै हुन्छन् ।’ जनप्रहार साप्ताहिकमा समाचार छ ।