समाचार

भुटान एयरलाइन्सले भदौ ३० देखि काठमाडौँ पुनः उडान सुरु गर्ने



काठमाडौँ, २० भदौ । भुटानको पहिलो निजी एयरलाइन्स, ‘भुटान एयरलाइन्स’ ले आगामी भदौ ३० देखि काठमाडौँ गन्तव्यमा पुनः उडान सुरु गर्ने भएको छ ।

उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसका अनुसार साताको चार दिन आइतबार, सोमबार, बुधबार र शनिबार उडान हुनेछ ।

कोभिड–१९ महामारीका कारण रोकिएको पारो–काठमाडौँका उडान पुनः सुरु हुने भएको कम्पनीले उल्लेख गरेको छ । थिम्पुमा मुख्यालय रहेको भुटान एयरलाइन्सको उडानले पारो–काठमाडौँ–नयाँदिल्लीलाई दुईतर्फीरुपमा जोड्ने छन् ।