Banner News

अर्थतन्त्रमा सकारात्मक संकेत देखियो : मन्त्री महत



काठमाडौँ, २१ भदौ । अर्थमन्त्री डा. प्रकाशरण महतले देशको अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको भन्दै सेयर मार्केट बढ्ने बताएका छन् ।

आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले सेयर मार्केटको गिरावट अस्थायी भएको बताउँदै अब बढ्ने बताएका हुन् ।

“सेयर मार्केटको गिरावट अस्थायी हो । अहिले अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालेका छन् । जस्तो– पर्यटकको संख्या बढेको छ, यसले होटेल र सेवा क्षेत्रमा सकारात्मक प्रभाव परेको छ,” संसद्मा बोल्दै अर्थमन्त्री महतले भने, “बजेट खर्च हुन थालेको छ । मौद्रिक नीतिले वर्किंग क्यापिटलमा सुधार आएको छ । सेयर मार्केटमा केही प्रतिबन्ध खुकुलो र सहजता गर्नुपर्छ भन्ने माग आइरहेको छ, त्यसलाई पनि यथोचित सम्बोधन हुनेछ ।”

“मौद्रिक नीतिले पहिलाको प्रतिबन्धित नीतिलाई खुकुलो गरेको हुनाले यो (सेयर मार्केटको) ट्रेन्ड बढ्छ । र, अर्थतन्त्र चलायमान भएपछि पनि सेयर मार्केट बढ्छ,” सेयर मार्केटमा घाटा व्यहोरेका लगानीकर्ताले अब, नाफा कमाउँ विश्वास व्यक्त गर्दै उनले भने, “आम नागरिकले गरेको लगानीको भाउ अहिले घटेको छ । र, अब फेरि त्यसको भाउ बढेर नाफा हुने कुरामा म पूरै विश्वास गर्न चाहन्छु ।”

यस्तै, उनले कुनै पेशामा लागेका व्यक्तिले पेशालाई नै लत्याएर सेयर मार्केटमा लाग्न नहुने, तर सानोतिनो लगानी गर्दा हुने बताए । उनले भने, “कारोबारमा किनबेच गरिरहँदा आफ्नो पेशालाई नै कम्प्रमाइज गर्नुपर्छ भन्ने छैन । कसको ट्रेन्ड के छ भन्ने थोरै सूचनाका आधारमा लगानी गर्न सकिने कुरालाई अनुचित ठान्नु हुँदैन ।”