खोटाङ, २७ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दैनिक ३० जना महिला भेला हुन्छन् । बिहान १०ः०० बजे भेला हुने महिला दिउँसोको समयमा कसैले बाँसका चोया खिपिरहेका हुन्छन् भने कोही विभिन्न सामग्री बुनिरहेका हुन्छन् ।
बाम्राङस्थित वडा कार्यालयमा भेला हुने महिलाले छोटो समयमै बाँसका चोयाबाट घरायसी काममा प्रयोग हुने रहरलाग्दा विभिन्न सामग्री बनाइरहेका छन् । गाउँमा बेरोजगार रहेका महिलालाई आफ्नै ठाउँमा स्वरोजगार बनाउन अन्तर्राष्ट्रिय श्रम सङ्गठनको आर्थिक सहयोगमा महिला उद्यमी सङ्घ खोटाङले बाँसका सामग्री निर्माणसम्बन्धी एकमहिने तालिमको आयोजना गरेको हो ।
यही भदौ १० गतेबाट सुरु भएको बाँसका सामग्री निर्माणसम्बन्धी तालिममा सहभागी महिलालाई बाँसका चोयाबाट पेनकेस, र्याक, फूलदानी, डुङ्गाबास्केट र डस्बिन बुन्ने सीप सिकाउने गरिएको जनाइएको छ । तालिममा सहभागी महिला आफैँ बाँस ढाल्छन् र बोकेर ल्याएपछि सोही बाँस फुटाएर आफैँ चोया काढ्ने गर्छन् ।
बाँसका चोयाबाट बन्ने घरायसी सामग्री निर्माण गर्न १५ दिन सिक्नुभएकी स्थानीय प्रेलिना राई अहिले आफैँ सहप्रशिक्षक बनेकी छिन् । केन्द्रबाट झिकाइएकी शर्मिला लामाले १५ दिन प्रशिक्षण दिएर गएपछि अहिले प्रेलिनाले सिकाउने काम गरिरहनुभएको आयोजक महिला उद्यमी सङ्घले जनाएको छ ।
तालिममा सहभागीमध्ये उत्कृष्ट बनेर सामग्री बुन्दै अरुलाई पनि सिकाउँदै आफू पनि सिक्दै आउनुभएकी प्रेलिना यही पेसाबाट जीविकोपार्जन गर्न सकिने बताउछिन् । “महिलाले केही गर्न सक्दैनन् भन्ने समाजको अगाडि पुरुषले गर्दै आएको बाँसका सामग्री निर्माण गर्ने काम गरेर व्यावसायिक बन्ने योजना छ”, उनले भनिन्, “गाउँघरमा प्रायः पुरुषले गरिरहेको यस्ता काम महिलाबाट पनि सम्भव हुन्छ भन्ने यसअघिसम्म लाग्दैन थियो । तर अहिले सिक्दै जाँदा सम्भव हुने रहेछ भन्ने लागेको छ । गाउँमा बाँस टन्न पाइन्छ, अब तालिमपश्चात यही व्यवसाय गर्ने सोच बनाएकी छु ।”
तालिममा सहभागी ३० जना महिलामध्ये २५ जना बाम्राङका छन् भने चारजना वडा नं १ दिक्तेल र एकजना दिप्रुङ चुइचुम्मा गाउँपालिकाका महिला सहभागी रहेका छन् । तालिममा सहभागी अधिकांश महिलाले तालिमपश्चात आ–आफ्नो गाउँ फर्किएर यही पेसालाई निरन्तरता दिने बताएका छन् ।
गाउँमा बेरोजगार रहेका महिलालाई बाँसका सामग्री बनाएर आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको महिला उद्यमी सङ्घ खोटाङकी कोषाध्यक्ष सञ्जु खत्रीले बताइन् । “महिलाले बुनेका सामग्रीको बजारीकरण सङ्घले गरिदिने योजना बनाएका छौँ । जसका लागि दिक्तेलमा कोसेली घर स्थापना गर्न लागिएको छ”, उनले भनिन्, “अहिले तालिममा सहभागी महिलामध्येबाट १५ जना उत्कृष्ट छानेर माथिल्लोस्तरको तालिम जस्तै माद्रो, नाङ्लो, डालोलगायतका सामग्री बुन्न सिकाउने तयारी गरेका छौँ । तालिममा सभागी महिलालाई खाना, खाजा तथा यातायात खर्चवापत रु १५ हजारका दरले भत्तासमेत उपलब्ध गराइएको छ ।”
बाम्राङमा आयोजना गरिएको बाँसका सामग्री निर्माणसम्बन्धी तालिम प्रभावकारी हुने अपेक्षा गरिएको छ । प्रायः पुरुषले मात्र गर्दै आएका पेसामा महिलालाई समेत सहभागी गराएर प्रोत्साहन गरिएकाले प्रभावकारी हुने अनुमान गरिएको हो ।
तालिमपछि उद्यमी बन्ने महिलाले उत्पादन गरेका सामग्री महिला उद्यमी सङ्घले खरिद गरेर बिक्री गर्ने योजना रहेको कोषाध्यक्ष खत्रीले बताइन्। “दिक्तेल बजारस्थित रत्नपार्कमा सञ्चालित सपिङ कम्प्लेक्समा कोसेली घर खोल्ने तयारी गरिएको छ । यसका लागि नगरपालिकासँग सम्झौतासमेत भइसकेको छ”, उनले भनिन्, “तालिममा सहभागी महिलाले उत्पादन गरेका हरेक सामग्री खरिद गर्ने योजना बनाएका छौँ । हामीले खरिद गरेका सामग्री निर्यात गर्न केन्द्रीय महिला उद्यमी सङ्घसँग कुरा भइरहेको छ । यसले जिल्लाका महिलामा उत्साह थपिएको छ ।”
महिला उद्यमी सङ्घले यसअघि महिलालाई अचार बनाउने र खोसेलाबाट सजावटका सामग्री निर्माणसम्बन्धी तालिम दिएको थियो । तालिममा सहभागी कतिपय महिलाले अहिले पनि उक्त सीपलाई निरन्तरता दिइरहेका छन् । दश स्थानीय तह रहेको खोटाङ जिल्लामा बनाइएका बाँसका विभिन्न सामग्री यसअघिबाटै बाहिरी जिल्लासमेत निर्यात हुँदै आएको छ । जिल्लामा निर्माण हुने डालो, नाङ्लो, फिपी, मान्द्रोलगायतका घरायसी सामग्री अधिक मात्रामा बाहिरी जिल्लाबाट माग हुने गरेको व्यवसायीले बताउने गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्