शैक्षिक

पाँचथरमा,७० प्रतिशत मतदान



पाँचथर, १४ असार । दोस्रो चरणको निर्वाचनमा विभिन्न केन्द्रीयस्तरका नेताले आज मतदान गर्नुभएको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य हकहित सम्बद्ध समितिका सभापति भीष्मराज आङदेम्बेले फाल्गुनन्द गाउँपालिका–१ उम्लाबुङस्थित शान्ति क्षेत्र प्राविबाट आज बिहानै मतदान गरे।

यस्तै नेकपा एमाले का केन्द्रीय सदस्य तथा पूर्व स्थानीय विकास राज्यमन्त्री डम्बरसिंह सम्बाहाम्फेले कुमायक गाउँपालिका–४ बाट मतदान गर्नुभयो । नेकपा माओवादी केन्द्र नेता तथा पूर्व स्थानीय विकास तथा पशुपक्षीमन्त्री श्रीप्रसाद जवेगुले फालेलुङ गाउँपालिका– ८ स्थित अंशुभन्ज्याङबाट मतदान गरेकाछन ।

त्यसैगरी काँग्रेसका नेता तथा पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बास्कोटाले फिदिम नगरपालिका– १ स्थित फिदिम मावि केन्द्रबाट मतदान गरे । त्यस्तै पूर्व स्थानीय विकासमन्त्री तथा काँग्रेसका नेता पूर्णकुमार शेर्माले भने अस्वस्थ भएका कारण मतदान गर्न सकेनन ।

अपराह्न २ बजेसम्ममा यहाँ ७० प्रतिशत मत खसेको मुख्य जिल्ला निर्वाचन अधिकृत राजेन्द्र श्रेष्ठले जानकारी दिए । यहाँ एक लाख २० हजार ३२८ मतदाता छन् । जिल्लाका आठ वटै स्थानीय तहमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको छ । बिहान केही गाउँपालिकामा पानी परेर रोकिएको मतदान पुनः सञ्चालन भएको थियो । जिल्लाका एक सय मतदानस्थलका १५६ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको मुख्य निर्वाचन कार्यालय फिदिमले जनाएको छ ।

जिल्लास्तरीय सुरक्षा समितिले तोकेको सीमावर्ती क्षेत्रका १५ अतिसंवेदनशील, ५७ संवेदनशील र २८ सामान्य मतदानस्थलमा निर्वाचन शान्तिपूर्ण भइरहेको छ । यहाँ ३१६ पदमा उम्मेदवारी परेको छ ।