अनुवाद: वेद काफ्ले
एउटा ठूलो रुखमा एउटा हरियो लार्भा (पुतलीको बच्चा) बस्थ्यो । त्यो लार्भा रुखका पात खाँदै दिनदिनै ठूलो भएर पुतली हुने दिनको पर्खाइमा थियो ।
सधैँ झैँ पातहरू खादै गर्दा छेउबाट कुटुक कुटुक खाएको आवाज सुनिएछ । यसो हेर्दा आफूजस्तै देखिने अर्को हरियो लार्भाले पनि त्यही रुखको पात खादै रहेछ ।
यो देखेर पहिलो लार्भाले भन्यो - “हुँदैन, हुँदैन । यो रुख मेरो रुख हो । यो पात मेरो पात हो । खान पाइँदैन ।” यो सुनेर त्यो अर्को लार्भाले पनि त्यस्तै भन्यो – “यो रुख मेरो रुख हो । त्यसैले यो पात पनि मेरो हो ।”
दुई लार्भाले यसरी विवाद गर्दै गर्दा छेउबाट मर्याकमर्याक खाएको आवाज सुनिएछ । यसो हेरेको त आफूहरू जस्तै देखिने अर्को हरियो लार्भाले पनि पात खादै रहेछ ।
“यो पात मेरो हो है” – पहिलो लार्भाले भन्यो ।
“मेरो पात नखाऊ” – दोस्रो लार्भाले भन्यो ।
“त्यस्तो कुरा मलाई के थाहा त” – तेस्रो लार्भाले जबाफ फर्कायो ।
“त्यस्तो कुरा मलाई के थाहा त” – तेस्रो लार्भाले जबाफ फर्कायो ।
त्यसै बेलामा त्यो रुखले बेसरी हल्लिँदै भन्यो – “कस्तो हल्ला गरेको ! तिमीहरू अलि माथि चढेर बाहिरको संसार पनि हेर न ।“
लार्भाहरू रुख चढेर माथि पुगेछन् । सबैभन्दा माथिको हाँगामा पुग्दा तीन वटै लार्भाहरू छक्क परेछन् । वनभित्र एउटा मात्र रुख कहाँ रहेछ र ! यस्ता रूखहरू त्यहाँ कति हो कति रहेछन् ।
“हामीहरू त यस्तो फराकिलो ठाउँमा बसेका रहेछौं । आकाश झन् कति फराकिलो हुँदो रहेछ ।”
लार्भाहरू हाँगामा लहरै बसेर मक्ख पर्दै चारैतिर हेर्न थालेछन् । टाढा समुन्द्र देखिएछ । लार्भाहरूलाई अहिलेसम्म समुन्द्रका बारेमा केही पनि थाहा रहेनछ । अचम्म मान्दै तीनै वटा लार्भाले एकै स्वरमा भने – “त्यो चम्किँदै गरेको ठाउँ के रहेछ?”
“कस्तो सुन्दर ! हामी ठूलो भएर पुतली भएपछि उड्दै त्यहाँसम्म हेर्न मन लाग्यो” – पहिलो लार्भाले भनेछ ।
“मलाई पनि त्यहाँसम्म उड्न मन लाग्यो” – दोस्रो लार्भाले भनेछ ।
“त्यसो हो भने हामी सबै जानुपर्छ है” – तेस्रो लार्भाले भनेछ ।
तीन वटै लार्भाहरू उड्दै समुन्द्रसम्म सँगै जाने प्रतिज्ञा गरेछन् ।
खुशी हुँदै रूख तल खुत्रुकखत्रुक ओर्लिएछन् । ती लार्भाले खाएर कहिले पनि नसकिने धेरै पात देखिएछन् । पातहरू हावामा सुस्तरी हल्लिरहेका थिए ।
-***-
यो कथा जापानको कक्षा १ को पाठ्यपुस्तकको एक पाठको नेपाली अनुवाद हो ।
प्रतिक्रिया दिनुहोस्