Banner News

सत्तरी प्रतिशत मतदान भयो – आयोग



काठमाडौँ, १५ असार । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा कम्तीमा ७० दशमलव ५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतदान सम्पन्न भएका ३५ जिल्लाबाट प्राप्त प्रारम्भिक विवरणअनुसार कम्तीमा ७० दशमलव ५ प्रतिशत मतदान भएको र यो आँकडा अझ बढ्नसक्ने जानकारी दिए।

निर्वाचन भएका ३५ जिल्लामध्ये सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत र सबैभन्दा कम भोजपुरमा ६१ प्रतिशत मत खसेको उहाँले बताउनुभयो । प्रदेश नं १, ५ र ७ गरी ३५ जिल्लाका ३३४ स्थानीय तहका कुल आठ हजार ३६४ मतदान केन्द्रमध्ये बझाङको जयपृथ्वी नगरपालिकाको पाण्डु मावि मतदान केन्द्र ‘क’, ‘ख’ बाहेक अन्य सबै मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको आयोगले जनाएको छ । सो मतदान केन्द्रमा वृद्ध मानिसले सहयोगी लगेको सम्बन्धमा विवाद भएपछि मतदान स्थगित भएको हो ।

सोलुखुम्बुको नेचा गाउँपालिका–६ मा स्थानीय राजनीतिक दल र जनताले गाउँपालिकाको स्वरुपप्रति असहमति जनाउँदै मतदानमा भाग लिएनन् भने नलवपरासी सरावल गाउँपालिकाको वडा नं ६ को जनता मावि भुजहवा मतदान केन्द्रमा दुई मत मात्र खसेको छ ।

मतदाताले लोकतान्त्रिक अभ्यासमा जनाएको व्यापक सहभागिताप्रति आभार प्रकट गर्दै प्रमुख आयुक्त डा यादवले आममतदातामा धन्यवाद ज्ञापन गर्नुभयो । निर्वाचन विरोधीले केही ठाउँमा राखेका बमलाई निस्कृय बनाउन र मतदान कार्यमा बाधा पु¥याउने व्यक्तिलाई नियन्त्रणमा लिई निर्वाचन कार्यलाई सफल बनाउनमा सुरक्षाकर्मीले समयमा नै देखाएको तदारुकताका कारण मतदान कार्यमा अधिकाधिक सहभागिता बढाएको भन्दै आयोगले सुरक्षाकर्मी एवम् अन्य सरोकारवालालाई धन्यवाद दिएको छ ।

मतदान कार्य सम्पन्न भएका स्थानीय तहका मतपेटिका सम्बन्धित स्थानीय तहको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि राजनीतिक दलहरुसँग समन्वयमा मतगणना कार्य आजैदेखि अगाडि बढाइने आयोगले जनाएको छ ।