Banner News

पराजुली प्रधानन्यायाधीशमा सिफारिस



काठमाडौँ, १५ असार । संवैधानिक परिषद्को आजको बैठकले कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको परिषद्को बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले कामु प्रधानन्यायाधीश पराजुलीको नाम प्रस्ताव गरेका थिय।
बैठकले सर्वसम्मतीले प्रधानन्यायाधीशमा पराजुलीको नाम सिफारिस गर्ने निर्णय गरेको उपसभामुख गङ्गाप्रसाद यादवले जानकारी दिए ।
पराजुलीको नाम अब सार्वजनिक सुनुवाइका लागि संसदीय सुनुवाई विशेष समितिमा पठाइनेछ । समितिले उहाँको नाम अनुमोदन गरेपछि उहाँको नियुक्ति हुनेछ ।

प्रधानन्यायाधीश सुशीला कार्कीले गत जेठ २४ गते उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि प्रधानन्यायाधीशको पद रिक्त छ । हाल वरिष्ठताका आधारमा न्यायाधीश पराजुली कामु प्रधानन्यायाधीश हुन ।

नेपालको संविधानको धारा २८४ मा प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्तिको सिफारिसको काम संवैधानिक परिषद्ले गर्ने व्यवस्था छ । जसमा प्रधानमन्त्री अध्यक्ष, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलका नेता र प्रतिनिधिसभाको उपसभामुख सदस्य रहने प्रावधान छ ।

प्रधानन्यायाधीशको पद रिक्त भएको अवस्थामा प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस गर्दा संवैधानिक परिषद्मा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सदस्यका रूपमा रहने व्यवस्था छ ।

गत जेठ ३० गतेको न्यायपरिषद् बैठकले भावी प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि छ जनाको नाम सिफारिस गरेको थियो । परिषद्ले कामु प्रधानन्यायाधीश पराजुली, सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशम्शेर जबरा र जगदीश शर्मा पौडेलको नाम सिफारिस गरी संवैधानिक परिषद्को सचिवालयमा पठाएको थियो ।

बैठकमा प्रधानमन्त्री देउवा, प्रमुख प्रतिपक्षी दलका नेता ओली, सभामुख ओनसरी घर्ती, उपसभामुख यादव, उपप्रधानमन्त्री एवम् कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोपालमान श्रेष्ठ उपस्थित थिए।