काठमाडौँ, ३ कार्तिक । आज नवरात्रको छैटौं दिन, कात्यायनी देवीको पूजा आराधना गरेर मनाइँदै छ । देवीका मन्दिरहरुमा आज पनि बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो छ ।
काठमाडौं उपत्यकाका भद्रकाली, नक्शाल, मैतीदेवी, दक्षिणकाली, गुह्यश्वरी लगायतका शक्तिपीठहरुमा लामबद्ध भएर पूजा गरिरहेका छन् । मन्दिर नजानेहरू आफ्नै दशैं घर वा पूजा कोठामा देवीको पूजा आराधना गर्दछन् ।
धर्मशास्त्रका जानकार डा. वासुदेवकृष्ण शास्त्रीका अनुसार कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीक मानिन्छ । यज्ञ–यज्ञादि, दानलगायत पुण्यकर्म तथा शुभकार्यमा आसुर वृत्तिका राक्षसहरूबाट हुने बिघ्नबाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएकाे धार्मिक वचन छ । कात्यायनीको उपासनाबाट रोग, शोक, सन्ताप, भय आदि नष्ट हुने धार्मिक विश्वास रहेको डा. शास्त्री बताउँछन् ।
कात्यायनी स्वरूपको पूजा विधि
सर्वप्रथम कलश र त्यसमा उपस्थित देवी देवताको पूजा गर्नुपर्दछ । फेरि देवीको परिवारमा शामेल देवी देवताहरुको पूजा गर्नुपर्दछ । यसको पूजापश्चात् देवी कात्यायनीको पूजा गर्ने गरिन्छ । पूजाको विधि शुरू गरेपछि हातमा फूल लिएर देवीलाई प्रणाम गरेर देवीको मन्त्रको ध्यान गर्नुपर्दछ । देवीको पूजापछि महादेव र परमपिताको पूजा गर्नुपर्दछ। श्री हरिको पूजा देवी लक्ष्मीको साथ गर्नुपर्दछ ।
कात्यायनीको स्वरूप
कात्यायनी देवीको स्वरूप अत्यन्त दिव्य र स्वर्ण समान चम्किलो रहेको धार्मिक ग्रन्थहरूमा वर्णन गरिएको छ । यी देवीको पनि सवारी सिंह हो । यिनका चार हातहरूमध्ये एक हात अभय मुद्रामा र दोस्रो हात वरदमुद्रामा रहेको हुन्छ । अन्य हातहरुमा एउटामा तरबार र अर्कोमा कमलको फूल रहेको हुन्छ ।
प्रतिक्रिया दिनुहोस्