काठमाण्डौ,११ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा सबै राजनीतिक दलहरूलाई पराजित गर्ने बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले नयाँ दलका रूपमा २१ जना सांसदहरू सदनमा आउँदासमेत कुनै पनि राजनीतिक दलहरूले जनताको लागि काम नगरेको बताए ।
‘अब ठूलो स्वर गर्ने, दबाब दिने होइन, २०८४ मा एकैपटक बाइबाइ गर्ने, एउटा सिट पनि नदिने । एक सिट पनि नदिने हो, ख्याल गर्नुहोला,’ लामिछानेले भने, ‘एक दुई सिट दिनुपर्छ, पुराना पार्टी हुन् भन्ने लाग्छ भने के तपाईं थप वाइडबडीमा भ्रष्टाचार भएको हेर्न चाहनुहुन्छ ?नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेचेको अझै हेर्न चाहनुहुन्छ ? नेपालीहरूको सुनौलो भविष्य भन्थे, त्यो सुनौलो भविष्य भनेको त आफ्ना छोराहरुलाई सुन ल्याउनका लागि सुनौलो भनेका रहेछन् ।’
दिनदहाडै हत्या गर्नेहरूलाई संविधान दिवसका दिनमा मुक्ति दिएर नयाँ दल र जनतालाई के गर्न सक्छौँ गर भन्ने चुनौती दिएको लामिछानेको भनाइ छ । आउने चुनावमा कुनै पनि दललाई एक सिट पनि जित्न नदिने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्