भक्तपुर, २५ कार्तिक । सेवा नै धर्म हो भन्ने मान्यताका साथ नेप्सेम्याक सेवा प्रालिले निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेप्सेम्याकको आयोजनामा आज भक्तपुरमा आयोजिना गरिएको कार्यक्रममा स्त्री रोग, चर्मरोग विशेषज्ञ तथा जनरल फिजिसियनद्वारा स्वास्थ्य परिक्षण गरिएको थियो । त्यस्तै कार्यक्रममा मधुमेह रोग (सुगर) जाँच तथा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । नेपाल रेडक्रस दुवाकोट शाखाले रक्तदान कार्यक्रमको सहजिकरण गरेको थियो भने मध्यपुर अस्पतालले स्वास्थ्य परिक्षणको विशेषज्ञसहितको स्वास्थ्य परिक्षण गरेको थियो । त्यस्तै लुसेन्ट स्किन तथा हेल्थ क्लिनिक गठ्ठाघर, महिला सम्बन्धी जागरुक महिला समूह जाउलाखेलले समन्वय गरेको थियो । कार्यक्रममा ५१ जनाले रक्तदान गरेका थिए भने ६४ जना गाईनो, ९४ जना जनरल फिजिसियन, १०२ छाला, ८४ सुगर परिक्षण जनाले स्वास्थ्य परिक्षण गरेका थिए । दुई लाख ५० हजार वरावरको निशुल्क औषधी वितरण गरिएको थियो । औषधी वितरणको समन्वय अर्जुन शर्माले गर्नुभएको थियो ।
बढ्दो सहरीकरण तथा वातावरणका कारण मानिसलाई विभिन्न रोगहरुले ग्रसित बनाई चेकजाँचमा समस्यालाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । आफ्नै संस्थामा कार्यरत कर्मचारीहरुले समेत दैनिक फोहोर न्युनिकरणमा काम गर्दा विभिन्न प्रकारका रोगहरुको सिकार हुनुपर्ने बाध्यता रहेकाले कर्मचारीको साथमा आम नागरिकलाई समेत स्वास्थ्य शिविर सञ्चालन गरेको बताइएको छ । पछिल्लो समय रगत अभावका कारण मानिसले ज्यान नै गुमाउनु परिरहेको दःखद् परिस्थितीलाई ध्यान दिई रक्तदान कार्यक्रम आयोजना गरिएको हो । संस्थाले अनिवार्य गर्नुपर्ने सामाजिक उत्तरदायीत्व अन्तरगत उक्त कार्य गरिएको बताइएको छ ।
प्रतिनिधिसभाका सांसद दुर्लभ थापाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै सांसद थापाले नेप्सेम्याकले सामाजिक सेवाको भावनालाई उजागर गरी निरन्तर काम गरिरहेको भन्दै उच्च प्रशंसा गर्नुभयो । फोहोर व्यवस्थापन गर्न विभिन्न प्रकारका अभियानहरु सञ्चालन गर्नुभन्दा पनि आम नागरिक नै जागरुक भई फोहोर नै नफाल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. २ का वडाध्यक्ष सोमप्रसाद प्रधान, मध्यपुर थिमी नगरपालिकाका पूर्वउपप्रमुख अञ्जनादेवी मधिकर्मी, सूर्यविनायक नगरपालिकाका पूर्वउपप्रमुख जुना बस्नेत, नेप्सेम्याकका अध्यक्ष टीकाराम दाहाल, राष्ट्रका लागि दुई घण्टा अभियानका कार्यवहाक अध्यक्ष नरेश रञ्जित, नेप्सेम्याक भक्तपुर शाखाका प्रवन्धक बाबुराम चौलागाई, नेप्सेम्याकका सञ्चालक गोविन्दप्रसाद आचार्यलगायतका सामाजिक क्षेत्रमा काम गर्ने विशेष व्यक्तिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्