राजनीति

सरकारी तयारीः निर्वाचनको तयारी गर्न आयोगलाई पत्राचार



काठमाडौँ, २० माघ । सरकारले स्थानीय निर्वाचनका लागि आवश्यक तयारी थाल्न निर्वाचन आयोगलाई लिखित आग्रह गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले निर्वाचनसम्बन्धी आवश्यक कानुन बनिसकेका सन्दर्भमा स्थानीय निर्वाचनको तयारी गर्न आयोगलाई पत्राचार गर्ने निर्णय गरेको हो । कानुनी व्यवस्थानुसार निर्वाचनको मिति तोक्ने अधिकार सरकारको हो । मिति घोषणाअघि सरकारले आयोगको परामर्श लिन सक्नेछ ।

नयाँ संविधानानुसार स्थानीय तह वा पुरानो संरचनाको स्थानीय निकायको निर्वाचन भन्नेबारे भने स्पष्ट भइसकेको छैन । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेले चाँडो स्थानीय तह निर्वाचनको मिति तोक्न आग्रह गरेका बेला सरकारले त्यसको तयारी सुरु गरेको हो ।

संविधान संशोधनको माग गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भने प्रदेशको सीमाङ्कन संशोधनपछि मात्र निर्वाचनमा जान दबाब दिइरहेको छ । संविधानतः आगामी २०७४ माघ ७ गतेभित्र केन्द्र, प्रदेश र स्थानीय निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यता छ । निर्वाचन आयोगले यही माघ १५ गतेभित्र मिति तय भएमा मात्र आगामी वैशाखभित्र स्थानीय निर्वाचन गर्न सकिने जनाउँदै आएको छ ।