काठमाडौँ, ५ मंसिर । अर्थमन्त्री डा.प्रकाशशरण महतले विकसित देशले उत्सर्जन गरेको कार्बनको कारण भएको जलवायु परिवर्तनको असर नेपालले भोगिरहेको बताएका छन् ।
आज काठमाडौँमा आयोजना भएको राष्ट्रिय जलवायु सम्मेलनमा बोल्दै अर्थमन्त्री डा. महतले कार्बन उत्सर्जन कम गर्न नेपालको ४५ प्रतिशत वन जङ्गल बनाएको विषयलाई विश्वले प्रशंसा गर्नुपर्ने बताए ।
उनले भने, ‘नेपालले कार्बन उत्सर्जन शून्य बनाउँदैमा जलवायु परिवर्तनको प्रभाव नेपालले भोगिरहेको छ । त्यसमा नेपालले कार्बन उत्सर्जन शून्य बनाउँदैमा जलवायु परिवर्तनको प्रभावबाट नेपाल मुक्त हुन्छ ? हुँदैन । त्यसको लागि धेरै कार्बन उत्सर्जन गरी रहेका छन् । उनीहरूले त्यो पूरा गर्नुपर्छ । त्यो हामी पूरा गर्न सक्छौँ र गर्छौँ । अरू देशले पनि प्रतिबद्धता पूरा गर्नुपर्छ । विकसित देशले उत्सर्जन गरेको कार्बनबाट नेपालले भोगिरहेको छ । नेपालका हिमालहरूको हिउँ पग्लिएको नेपालले कार्बन उत्सर्जन गरेको कारणले नभएर अन्य देशको कारणले हो । विकसित मुलुकहरूले जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्नको लागि सहयोग चाहियो । नेपालका ठुला आयोजनाहरूको लागत कस्ट बढ्ने गरेको छ । त्यो बढेको कस्ट व्यहोर्ने कि न व्यहोर्ने ? नेपालमा जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्ने डोनर एजेन्सीहरूबाट सहयोग लिएर नेपालमा रिपोर्ट मात्रै प्रस्तुत गर्ने भन्दा पनि अब यकिन कार्यक्रम ल्याउनपर्छ । जलवायु परिवर्तन न्यूनीकरणको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूले नेपालले जलवायु परिवर्तनको ठुलो असर भोगिरहेको छ नेपालको माग वास्तविक हो भन्ने कुरा कोपमा राखिदिनु पर्छ । सन् २०३० भित्र हाम्रा कुल ऊर्जा मागको १५ प्रतिशत स्वच्छ ऊर्जा स्रोतबाट परिपूर्तिको सुनिश्चितता गर्नेछौँ ।’
महतले नेपालले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न अक्सिजन धेरै उत्पादन गर्ने र कार्बन उत्सर्जन कम गर्नको लागि ४५ प्रतिशत भू–भाग जङ्गलका रूपमा स्थापित गरिरहेको जिकिर गरे । अर्थमन्त्री महतले कार्बन उत्सर्जन कम गर्न सवारीसाधनहरू समेत विद्युतीयमा परिमार्जन भइरहेको उल्लेख गरे । उनले सन् २०४५ भित्र विशुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्यमा विश्वले कुनै शङ्का नराख्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्