काठमाडौँ, १० मंसिर । केही महिनाअघि एक दम्पती फेसबुक र टिकटकमा आफ्नी छोरीको चरित्रहत्या भएको उजुरी लिएर भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरो आइपुगे । साथमा थिइन् १६ वर्षीया छोरी । घटना सम्झँदै ब्युरोका प्रहरी निरीक्षक राजकुमार खड्गी भन्छन्, ‘मानसिक रूपमा किशोरी विक्षिप्त थिइन् ।’
पीडकले उनको तस्बिर प्रयोग गरेर फेसबुकमा फेक आईडी बनाएका थिए । त्यो आईडीबाट पीडितका आफन्त र साथीलाई अश्लील सामग्री पठाउँथे, अश्लील कमेन्ट गर्थे । चरित्रहत्या हुने भिडियो पोस्ट गरिदिन्थे ।
प्रहरीका अनुसार सुरुवातमा पीडित र पीडकले फेसबुकमा चिनजान गरेका थिए । पीडकले किशोरीलाई ‘भेट गरौं’ भनेर पटक–पटक अनुरोध गर्थे । त्यस्तो आग्रहलाई अस्वीकार गरेकी किशोरी मानसिक हिंसाको आक्रमणबाट बच्न सकिनन् । घटनामाथि ब्युरोले प्राविधिक विश्लेषणसहितको अनुसन्धान गर्यो । उक्त गतिविधिमा संखुवासभा स्थायी घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोल बस्दै आएका १८ वर्षीय अनिश भट्टराई संलग्न रहेको पुष्टि भएपछि काठमाडौं जिल्ला अदालतले विद्युतीय कारोबार ऐन २०६३ बमोजिम गत मंगलबार (मंसिर ५ मा) उनलाई थुनामा पठाएको छ ।
यस्तै, अपरिचित व्यक्तिले गरेको फेसबुक मेसेन्जरमा भिडियो कल ‘रिसिभ’ गर्दा एक महिलाले उल्टै अश्लील सामग्रीसहितको अनलाइन हिंसा झेल्नुपर्यो । भिडियो कलमा एक पुरुषले आपत्तिजनक व्यवहार देखाइरहेका थिए । उनैले अर्को मोबाइलबाट महिलाले कल रिसिभ गरेको अनुहार देखिने गरी भिडियो रेकर्ड गरिरहेका थिए । महिलाले आइन्दा यस्ता गतिविधि नगर्न आग्रह गरिन् । तर, ती पुरुषले तुरुन्तै महिलाको फेसबुकमा गएर अश्लील र अपमानजनक कमेन्ट गर्न थाले । महिलाले साइबर ब्युरोमा उजुरी गर्दै ‘आफ्नो चरित्रहत्या गर्ने व्यक्ति पत्ता लगाई कानुनबमोजिम कारबाही गरिदिन’ माग गरिन् । ब्युरोले अनुसन्धान गरेपछि अर्घाखाँची स्थायी घर भई ललितपुर बस्ने २९ वर्षका तुफान केसी पीडक रहेको पत्ता लाग्यो । केसीलाई ब्युरोले गत भदौ ४ मा पक्राउ गरी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कारबाही गर्यो ।
अनलाइन प्लाटफर्महरूको दुरुपयोगले मानव बेचबिखनको जोखिम पनि उत्तिकै बढेको छ । ‘मानवअधिकार आयोगको प्रतिवेदन २०७९’ अनुसार सामाजिक सञ्जालमा साथी बनेर रोजगारीमा लगाइदिने, घुम्न लैजाने, पढाइदिने, मोबाइल किनिदिने, प्रेम तथा अपनत्व देखाउने जस्ता प्रलोभनमा पारेर वयस्कहरूले बालबालिकाको बेचबिखन तथा ओसारपसार गर्ने गरेको पाइएको छ । काठमाडौंकी एक महिलाले फेसबुकबाट चिनजान भएका बालिकाहरूलाई राम्रो कमाइ हुने कामको आस देखाउँथिन् । अनि गेस्टहाउसमा पुर्याएर सञ्चालकको जिम्मा लगाइदिन्थिन् ।
सञ्चालकले सुरुमा बालिकाहरूलाई वेटरको काम लगाइदिन्थे । पछि बिस्तारै ग्राहकको बिल बढाउन सँगै खाना खान, बस्न र ग्राहकहरूसँग दुई हजारदेखि ३ हजार ५ सय रुपैयाँ लिएर जबर्जस्ती शारीरिक सम्पर्क राख्न पनि लगाए । यसरी भएको कमाइसमेत आफैंसित राखेर श्रम शोषणसमेत गर्थे । एक बालिकाले यसविरुद्ध प्रहरीमा उजुरी दिएपछि ७२ वर्षीय ती सञ्चालकलाई मानव बेचबिखनविरुद्धको कसुरमा कारबाही भएको थियो ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को प्रतिवेदन अनुसार नेपालमा १५ देखि ४९ वर्ष उमेर समूहका २३ प्रतिशत महिलाले १५ वर्षकै उमेरदेखि शारिरीक हिंसा भोगेका छन् । ६ प्रतिशत महिलाले गर्भावस्थामा हिंसा महसुस गरेका छन् । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा आएका मानव बेचबिखनसम्बन्धी जाहेरी हेर्दा अधिकांश पीडित महिला नै हुने गरेका छन् । आव २०७९/८० मा मानव बेचबिखनसम्बन्धी १ सय ५७ वटा मुद्दा दायर भएकोमा २१० जना महिला र २० जना पुरुष पीडित रहेको ब्युरोको तथ्यांक छ ।
इन्टरनेटको बढ्दो पहुँच र दुरुपयोगले नेपाली समाजमा महिला हिंसाको बदलिँदो स्वरूपलाई देखाउँछ । २०७८ को जनगणनाअनुसार देशभर स्मार्टफोन प्रयोग ७३ प्रतिशत परिवारमा, कम्प्युटर/ल्यापटप प्रयोग १५ प्रतिशत, इन्टरनेट प्रयोग ३७.८ प्रतिशत परिवारमा पुगेको छ । इन्टरनेट तथा विद्युतीय साक्षरता नहुँदा अनलाइन हिंसाको जोखिम झनै बढ्ने, महिला, बालिका, किशोरी, अपांगता भएका तथा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय यसको सिकार भइरहको प्रहरी निरीक्षक खड्गीको भनाइ छ । ‘अनलाइन प्लाटफर्मको प्रयोगबारे जहिलेसम्म व्यक्ति–व्यक्तिसम्म सचेतना पुग्दैन, सामाजिक सञ्जालका माध्यमबाट हुने हिंसा र दुर्व्यवहार झन् बढिरहन्छन्,’ ब्युरोका प्रहरी निरीक्षक खड्गी भन्छन्, ‘दैनिक डेढ सयको हाराहारीमा उजुरी हामीकहाँ आइरहेका छन् ।’
नेपाल प्रहरीका पूर्वडीआईजी राजीव सुब्बा सामाजिक सञ्जालको दुरुपयोग गरी हुने चरित्रहत्या, गालीगलौज जस्ता गतिविधिले व्यक्तिको मानसिकतामा ठूलो असर पार्ने भएकाले साइबर सचेतनालाई जोड दिनुपर्ने बताउँछन् । ‘मैले के लेख्दै छु, के च्याट गर्दै छु भन्ने कतिलाई थाहै छैन, भोलि कानुनी झमेलामा फस्छु भन्ने जानकारी नै छैन । पाठ्यक्रममै समावेश गरेर विद्यालय तहबाटै जनचेतना जगाउनुपर्छ, साइबर अपराध पीडितलाई मनोसामाजिक परामर्शको व्यवस्था गर्नॅपर्छ,’ सुब्बा भन्छन् ।
ब्युरोमा आएका पछिल्ला चार वर्षका तथ्यांकलाई मात्रै विश्लेषण गर्दासमेत औसत एक हजारका दरले साइबर अपराधअन्तर्गतका उजुरी बर्सेनि वृद्धि भइरहेको देखिन्छ । गत आर्थिक वर्ष २०७९/८० मा साइबर अपराधसम्बन्धी ५ हजार ५ सय २८ उजुरी आएका थिए, जसमध्ये महिलाका २ हजार ७०१ महिला र ९० उजुरी बालिकाका तर्फबाट परेको थियो । पुरुषका २ हजार ४४९ र बालकाका ३८ उजुरी थिए । अन्यका ५० वटा उजुरी ब्युरोमा परेको थियो । साइबर ब्युरोका प्रहरी उपरीक्षक पशुपति रायका अनुसार महिला र बालिकाका उजुरीमध्ये अधिकांश अनलाइन हिंसा र दुर्व्यवहारसम्बन्धी हुने गरेका छन् भने पुरुषको उजुरी ठगी र अपराधसम्बन्धी हुने गरेका छन् ।
अनलाइन प्लाटफर्ममार्फत डरत्रास, धाकधम्कीका मेसेज पठाउने, प्रापकको सहमतिबिना यौनजन्य सामग्री पठाउने, गोप्य र निजी पहिचानका सामग्री सार्वजनिक गरिदिनेलगायतका गतिविधिबाट अनलाइन हिंसा हुने गरेको छ । विश्वमा प्रत्येक तीन महिलामध्ये एक जनाले यौनजन्य तथा शारीरिक हिंसा भोगिरहेका यूएन वुमनको प्रतिवेदन छ । अनलाइन प्लाटफर्ममा हुने हिंसाले महिला, बालिका तथा किशोरीविरुद्धको हिंसाका विद्यमान स्वरूप र ढाँचालाई उल्लेख्य मात्रामा बढाउने प्रतिवेदनमा उल्लेख छ ।
‘अनलाइन वा विद्युतीय उपकरणको पहुँचमा रहेका सबैजसो महिला र युवतीले अनलाइन हिंसाको सामना गर्छन्, तीमध्ये केही चाहिँ बढि नै जोखिममा हुन्छन्,’ यूएन वुमनको प्रतिवेदन भन्छ । रिपोर्टअनुसार सार्वजनिक छवि बोकेका महिला, पत्रकार, मानवअधिकार रक्षक, राजनीतिज्ञ र नारीवादी अभियन्ता अनलाइन माध्यमका हिंसाबाट सबैभन्दा बढी जोखिममा छन् । ‘द इकोनोमिस्ट इन्टेलिजेन्स युनिट’ को प्रतिवेदनअनुसार विश्वका ८५ प्रतिशत महिलाले आफू अनलाइन हिंसाको साक्षी बन्नुपरेको र ३८ प्रतिशतले व्यक्तिगत रूपमै अनलाइन हिंसा खेपेको देखिन्छ ।
महिला, किशोरी, अल्पसंख्यक र सीमान्तकृतको तस्बिर दुरुपयोग हुने, अनलाइन दुर्व्यवहार, अपमान र इच्छाविपरीत यौनजन्य गतिविधिको उच्च जोखिममा हुने यूएनएफपीएको निष्कर्ष छ । पत्रकार एवम् लेखक अमृता लम्साल सार्वजनिक सरोकारका विषयमा तर्कसंगत आलोचना गर्छिन् । विचार र टिप्पणी गरेकै कारण उनीमाथि सामाजिक सञ्जालमा अश्लील गालीगलौज, बलात्कारदेखि ज्यान मार्नेसम्मको धम्की आउँछन् । शुभचिन्तकहरूले ‘ट्वीट कम लेख्न, उनीहरूसित कम प्रतिक्रिया गर्न, बेवास्ता गर्न, ब्लक गर्न, साइबर दुर्व्यवहारको उजुरी गर्न’ सुझाव दिन्छन् ।
उनले कतिपय अश्लील गालीगलौज, धम्कीहरूबारे नेपाल प्रहरी र सरकारलाई फेसबुक र ट्वीटरमार्फत जानकारी नगराएकी पनि होइनन् । तर, यसमा सरकारले कस्तो अनुसन्धान गर्यो भन्ने उनले जानकारी पाएकी छैनन् । ‘सामाजिक सञ्जालमा हुने घृणास्पद गालीगलौज, चरित्रहत्या, हिंसा र दुर्व्यवहार डरलाग्दो गरी फैलिरहेको छ, नेपाल प्रहरीको फेसबुक पेजमा गराएको जानकारीबारे जवाफसमेत पाएको अनुभव छैन,’ उनको भनाइ छ । कान्तिपुर
प्रतिक्रिया दिनुहोस्