काठमाडौँ, १५ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार ढल्न समय नलाग्ने दाबी गरेका छन् ।
आज संकल्प यात्राका क्रममा डडेलधुराको अमरगढीमा आयोजित सभामा अध्यक्ष ओलीले सरकार हल्लिरहेको बताए । उले भने, “हामीले अहिले मिसन ०८४ भनेका छौँ । यदि बीचमा यो सरकार…म किन भनिरहेको छु भने यो सरकार कसैले ढाल्नुपर्दैन । सरकार हल्लिरहेको छ । चर्याक मर्याक, चर्याक मर्याक भइरहेको छ । तर, हामी पश्चिमबाट पूर्वसम्मको तीन हप्ताको अभियानमा लागेका छौँ । “
उनले सरकार कुनै समय आफैँ ढल्न सक्ने बताए । “यो सरकार आफैँ ढल्न सक्छ कुनै समय । यो कुनै खुट्टा भएको सरकार नै होइन । गठबन्धनको छेस्काहरूले अड्याएको हो,” ओलीले जिकिर गरे । सरकारसँग कुनै सिद्धान्त, कार्यक्रम नरहेको ओलीको भनाइ छ । कांग्रेस प्रचण्डपथको भरिया बनेको आरोप ओलीले लगाए ।
“यसको कुनै सिद्धान्त, नीति, योजना छैन । कुनै कार्यक्रम छैन । मोटामोटीमा भन्ने हो भने यो सरकार माओवादीको नीतिमा प्रचण्डपथमा हिँड्न खोजिरहेको छ । सकेको छैन । नेपाली कांग्रेस प्रचण्डपथको भरिया बनेर हिँडिराखेको छ,” उनले भने ।
प्रतिक्रिया दिनुहोस्