काठमाडौं, २४ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले साता–१० दिनभित्र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका माग पूरा गर्ने बताउनुभएको छ ।
तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागिताका लागि निर्वाचन आयोगमा दल दर्ता गराएलगत्तै शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका राजपा नेतालाई प्रधानमन्त्री देउवाले यसरी आश्वस्त पार्न खोज्नुभएको हो ।
‘तपाईंहरू विश्वस्त रहनुस्, हप्ता–दश दिनभित्र संविधान संशोधन, जनसंख्याका आधारमा क्षेत्र निर्धारण, मुद्दा फिर्ता, सहिद घोषणा, क्षतिपूर्ति दिनेलगायत तीनबुँदे सहमति कार्यान्वयन हुन्छ, गर्छु’, प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
कांग्रेस, माओवादी केन्द्र र राजपा लामो समयका लागि मित्र शक्ति भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘त्यसैले तपाईंहरूको माग चाँडोभन्दा चाँडो पूरा गर्नु मेरो जिम्मेवारी हो ।’
प्रधानमन्त्रीको बारम्बारको प्रतिबद्धताप्रति टिप्पणी गर्दै राजपा नेता राजेन्द्र महतोले ‘भनाइ र गराइमा एकरूपता आउनुपर्ने’ बताउनुभएको थियो । ‘राजपाले मत दिएरै शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुभएको हो’, नेता महतोले भन्नुभयो, ‘तर, दोस्रो चरणको निर्वाचन बहिष्कार गर्छौं भन्दा मधेसी जनतामाथि लाठी, गोलीको वर्षा किन भन्ने प्रश्न राखेको थिएँ ।’
आफूहरू उपस्थित मञ्चमा गोली ठोक्ने कार्य कसरी मित्रताको नमुना हुन सक्छ भन्ने महतोको प्रश्नमा देउवा नाजवाफ देखिनुभएको थियो। सप्तरी र वीरगन्जमा रहेका एसपीलाई फिर्ता बोलाएकोमा राजपाले असन्तुष्टि जनाएको थियो ।
कांग्रेस नेता विमलेन्द्र निधिले माओवादी, राजपा र कांग्रेसबीच संविधान संशोधनका विषयमा छलफल भएको जानकारी गराउनुभयो । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्