Banner News

मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीलाई सात बुँदे ध्यानाकर्षण पत्र बुझाए



काठमाडौँ, १४ पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  सङ्घीयताको परिकल्पनाकार र संविधान निर्माणको समेत अगुवा हुनुको नाताले सङ्घीय कानुनहरू निर्माणका निम्ति आफू गम्भीर रूपमा लागिरहेको बताएका छन् ।

छवटा प्रदेशका मुख्यमन्त्रीहरूसँग शनिबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्रीहरूले  संयुक्त रूपमा भेट गरी संविधानले व्यवस्था गरेका सङ्घीय अधिकारहरू कार्यान्वयनका लागि सङ्घीय सरकारको ध्यानाकर्षण गराएका छन्। भेटमा मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीलाई सात बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै नेपालको संविधानमा व्यवस्था भएका साझा अधिकार सूचि प्रयोगको व्यवस्था मिलाउन, गत असारमा पोखरामा सम्पन्न मुख्यमन्त्री सम्मेलनको निष्कर्ष कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

जवाफमा प्रधानमन्त्रीले भने, ‘‘तपाईंहरू सबै जानकार नै हुनुहुन्छ। मैले नै सङ्घीय गणतन्त्रको परिकल्पना गरेको थिएँ, त्यसका निम्ति सङ्घर्ष गरेको थिएँ। त्यसलाई संविधानमा लिपिबद्ध गर्नसमेत मैले भूमिका खेलेको छु, नेतृत्व लिएको छु। त्यसैले सङ्घीयता कार्यान्वयन मेरो सबैभन्दा ठुलो चासो र प्राथमिकताको विषय हो। खाली यो कसरी कार्यान्वयन गर्ने, संसद्मा सहभागी सबै दलहरूलाई पनि सहमत गराएर कसरी अगाडि बढ्ने भन्ने विषयले मात्र समय लिएको हो।’’