Banner News

संविधान संशोधनपछि मात्र सरकार विस्तार : उपप्रधानमन्त्री महरा



चितवन, २६ असार । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनपछि मात्र सरकार विस्तार हुने बताए ।

प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले संविधान संशोधनको प्रस्ताव लाने तयारी गरिरहेको बताए । उपप्रधानमन्त्री महराले भने संविधान संशोधनको प्रस्ताव आज भोलि नै पेश हुन्छ । पत्रकारको एक प्रश्नमा उनले मन्त्रालय भागबण्डामा खासै विवाद नरहेको बताए ।
उपप्रधानमन्त्री महराले भारतले लगाएको मालसामान तथा सेवा व्यवसाय कर ९गुड्स एण्ड सर्भिस ट्याक्स जिएसटी को नेपालमा पर्ने प्रभावका विषयमा अध्ययन गर्न छिट्टै एक टोली भारत जाने जानकारी दिए ।

भर्खरै मात्र जिएसटी लागू गरेकाले त्यसको परिणाम आई नसके भन्दै उहाँले आफू केही समय अघि भारत जाँदा यस विषयमा त्यहाँका परराष्ट्रमन्त्रीसँग समेत कुराकानी गरेको बताए ।

भारतको केन्द्रीय सरकारले १ जुलाई २०१७ देखि राष्ट्रभर नयाँ तथा एकीकृत कर प्रणाली लागू गरेको छ । मालसामान तथा सेवा व्यवसाय कर गुड्स एण्ड सर्भिस ट्याक्स जिएसटी नामाकरण गरिएको यस नयाँ र एकल कर प्रणाली राष्ट्रव्यापी रुपमा लागू गरिएपछि यसअघि विभिन्न राज्य तथा केन्द्रमा विद्यमान अलग अलग राज्यीय र संघीय कर व्यवस्था खारेजीमा परेको छ ।