Banner News

उपराष्ट्रपति पुन स्वदेश फिर्ता



काठमाडौँ, २६ असार । उपराष्ट्रपति नन्दबहादुर पुन चीनमा आयोजित ‘२३ औँ चीन–लान्जाउ लगानी तथा व्यापार मेला’मा सहभागी भई स्वदेश फिर्ता भएका छन ।

उपराष्ट्रपति पुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आज प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, गृहमन्त्री जनार्दन शर्मा, श्रम तथा रोजगार मन्त्री फरमुल्ला मन्सुर, संवैधानिक अङ्गका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, उच्च सरकारी पदाधिकारी एवम् कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले स्वागत गरे।

भ्रमणका अवसरमा उनले यही असार २२ गते विकास र सहयोगका लागि उच्चस्तरीय मञ्चमा विशेष सम्बोधन गर्नुका साथै उच्चस्तरमा भेटवार्तासमेत गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । चीनको गान्सु प्रान्तको राजधानी लान्जाउमा आयोजित उक्त मेलामा सहभागी हुन उपराष्ट्रपति पुन यही असार २० गते त्यसतर्फ प्रस्थान गरेकाथिए ।

उपराष्ट्रपतिको भ्रमण टोलीमा उनकी श्रीमती हस्तमाली पुन, उपराष्ट्रपति कार्यालयका सचिव नारायणगोपाल मलेगो र अन्य अधिकारी तथा परराष्ट्र र वाणिज्य मन्त्रालयका अधिकारीको समेत सहभागिता थियो ।