काठमाडौँ, १० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश बनाउने जिम्मा सरकार, सबै राजनीतिक दलका साथै विभिन्न तह र तप्काका जनसमुदायको भएको बताएका छन् ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा डा.केदारभक्त माथेमा, डा.पीताम्बर शर्मा, डा.विद्यानाथ कोइराला, डा.चैतन्य मिश्र, प्रा.कृष्ण खनालसहितका प्रबुद्ध व्यक्तित्वसँगको छलफलमा प्रधानमन्त्रीले अहिले देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा रूपान्तरणको खाँचो औँल्याउँदै यसका लागि राज्यका साथै सबैले जिम्मेवारी लिनुपर्ने बताए ।
उनले देश बनाउन सबभन्दा वेस्ट ब्रेनहरू केन्द्रित गर्नुपर्छ भन्ने आफ्नो विगतदेखि कै सोच रहँदै आएको बताउँदै अहिले विश्वविद्यालयलाई राजनीतिक भागबन्डा बनाउनु हुँदैन भनेर विगतको परम्परामा ब्रेक थ्रु गर्न लागिएकाले यसमा बौद्धिक समुदायको साथ र सहयोगको अपेक्षा गरे । प्रधानमन्त्रीले आफू प्रधानमन्त्री भएदेखि नै भोलिको उज्यालो र समुन्नत नेपालका लागि सुशासन, सामाजिक न्याय र सम्बृद्धिका पक्षमा अनवरत काम गरिरहेको बताउँदै आम जनतालाई देशमै भविष्य छ भनेर भरोसा दिनुपर्ने दायित्व राज्यको भएकाले यसमा बौद्धिक समुदायको पनि महत्त्वपूर्ण भूमिका रहने औँल्याए ।










प्रतिक्रिया दिनुहोस्