काठमाडौँ, १६ माघ । माघ २२ गतेबाट प्रारम्भ हुने संसदलाई ‘बिजनेश’ दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरेका छन् ।
आज दिउँसो प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रालयका अधिकारीहरू बोलाएर आगामी संसद अधिवेशनमा प्रस्तुत गर्ने विधेयकहरूको तयारीबारे छलफल गरेका हुन् ।
अघिल्लो संसद अधिवेशनले कानुन निर्माणका प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको समीक्षा भइरहेका बेला छलफलमा प्रधानमन्त्रीले संसदलाई बिजनेश दिने र अधिवेशनलाई प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिएका हुन् । मन्त्रालयलाई निर्देशित गर्दै बैठकमा प्रधानमन्त्रीले भने, ‘अघिल्लो वर्ष संसदले कानुन निर्माणमा उदाहरणीय काम गर्न सकेन भन्ने समीक्षा छ । सरकारले पनि ‘बिजनेश’ दिएन भन्ने मत पनि छ । तर, यसपटक त्यस्तो नहोस् ।’
प्रधानमन्त्रीले भने, ‘संसद सुरू हुनेबित्तिकै धेरैभन्दा धेरै विधेयकहरू दर्ता गर्नेगरि तयारी गरौँ । मुख्यसचिवले फलोअप गर्नुहोला । मन्त्रालयले सबै मन्त्रालयसँग समन्वय गरेर विधेयक ल्याउनुहोला। राम्रो तयारी गर्नुहोला । यसपटक संसदलाई व्यवस्थित रूपले बिजनेश दिनुपर्छ । त्यो गुनासो नआउने गरी काम गर्नुहोला ।’










प्रतिक्रिया दिनुहोस्