Banner News

प्रधानमन्त्री द्दवारा जनता टेलिभिजनको शुभारम्भ



काठमाडौँ, २९ असार । नयाँ श्रव्यदृष्य विद्युतीय माध्यम ‘जनता टेलिभिजन’को आज यहाँ शुभारम्भ गरिएको छ ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सो टेलिभिजनको आज यहाँ शुभारम्भ गर्दै सत्यतथ्यमा आधारित भएर आलोचना गर्न सञ्चारमाध्यमलाई आग्रह गरे । मिडियाले राजनीतिकर्मीलाई गाली गर्नु, आलोचना गर्नुलाई मैले सकारात्मक रूपमा नै लिएको छु, तर सत्यतथ्यमा आधारित आलोचना होस्, समाचार पनि सत्यतथ्य होस्, प्रधानमन्त्री देउवाले भने ।

आगामी असोज २ गते २ नं प्रदेशको स्थानीय तहको तेस्रो चरणको निर्वाचनका साथै माघ ७ भित्र प्रदेश र सङ्घको समेत निर्वाचन गर्ने सरकारको योजना रहेको प्रधानमन्त्री देउवाको भनाइ छ ।

कार्यक्रममा नेकपा एमाले का वरिष्ठ नेता झलनाथ खनालले पछिल्लो पटक आमसञ्चारमाध्यमको गुणात्मकभन्दा पनि सङ्ख्यात्मक वृद्धि भइरहेका असन्तोष व्यक्त गर्दै यसको गुणात्मक वृद्धिमा जोड दिए । नेकपा माओवादी केन्द्र का नेता नारायणकाजी श्रेष्ठले पछिल्लो पटक सञ्चारमाध्यमले जनताका विषयभन्दा पनि बढी मात्रामा राजनीतिक समाचारलाई महत्व दिएकामा असन्तोष व्यक्त गरे ।

‘जनता टेलिभिजन’का अध्यक्ष डा विजयकुमार पौडेलले जनताको लगानीमा जनताका लागि सञ्चालित आफ्नो टेलिभिजनले जनताकै विषयलाई बढी महत्वका साथ प्रसारण गर्ने प्रतिबद्धता व्यक्त गरे । विसं २०७४ वैशाख २० गतेदेखि परीक्षण प्रसारण सुरू गरेको सो टेलिभिजनले आजदेखि नियमित प्रसारण सुरू गरेको हो ।