Banner News

स्थानीय तहको अधिकार कटौती एमालेलाई मान्य नहुने–अध्यक्ष ओली



भक्तपुर, ३० असार । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहलाई दिएको अधिकार सरकारले कटौती गर्न लागेको भन्दै एमालेलाई यो मान्य नहुने बताए ।

आज सूर्यविनायक नगरपालिका नगर कार्यपालिकाको प्रथम नगरसभाको उद्घाटन गर्दै उनले संविधानले स्थानीय तहलाई दिएको अधिकार सरकारले कटौती गर्न खोज्नु गलत भएको बताए ।

अध्यक्ष ओलीले भने–संविधान निर्माण गर्दा संविधानमै उल्लेख भएको केन्द्र, प्रदेश र स्थानीय तहको अवधारणालाई सरकारले केन्द्र र प्रदेशमा केही नगरी स्थानीय तहको अधिकार मात्रै कटौती गर्ने गरी कानुन ल्याउन लागेको छ, यो एमालेलाई मान्य हुनेछैन् ।

अधिकार सम्पन्न स्थानीय निकायले मात्रै आफ्नो गाउँपालिका तथा नगर एवम् समग्र देशको विकासमा सहयोग पु¥याउने भएकाले सबै राजनीतिक दल मिलेर विकासमा अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ थियो ।

कार्यक्रममा सांसद रामेश्वर ढुङ्गेल, पूर्वमन्त्री महेश बस्नेत, एमाले केन्द्रीय सदस्य सानु श्रेष्ठलगायतले स्थानीय तहलाई दिएको अधिकार कटौती गर्न नहुने बताए ।

परिषद्मा नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले आर्थिक वर्ष २०७४/७५ का लागि कुल रु ४८ करोड १० लाख २८ हजारकोे अनुमानित बजेट सार्वजनिक गरेका थिए।