Banner News

पत्रकारिता स्वतन्त्र हुनुपर्छ : सभामुख



काठमाडौँ, ३० असार । सभामुख ओनसरी घर्तीले नेपालमा विभिन्न बहानामा स्वतन्त्र पत्रकारितामाथि अवरोध हुने गरेको बताइन ।

फोटो जर्नालिस्ट क्लबको आयोजना तथा इन्टरनेशनल मिडियाको सहयोगमा आजदेखि बबरमहलस्थित आर्ट काउन्सिलमा शुरु भएको ‘पत्रकार र सुरक्षा’ विषयक दुई दिने फोटो प्रदर्शनी कार्यक्रमको आज उद्घाटन गर्दै उनले स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारभूत विषय भएकाले पत्रकारिता स्वतन्त्र हुनुपर्नेका जोड दिइन ।

उनले पत्रकारजगतले जनआन्दोलन र गणतन्त्र स्थापनाका लागि खेलेको भूमिकाको प्रशंसा गर्दै पत्रकारको सुरक्षा अझै सन्तोषजनक नभएको बताइन ।

सभामुख घर्तीले पत्रकारिता सामाजिक दायित्वको पेशा भएकाले पत्रकारको समस्या समाधान गर्न आफू प्रयासरत रहने बताइन ।

प्रदर्शनीको सभामुख घर्तीले फोटो पत्रकारकै फोटो खिचेर उद्घाटन गरिन। सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले फोटो पत्रकारले भोग्नुपरेको जोखिमलाई न्यूनीकरण गर्दै जानुपर्नेमा जोड दिए ।

सूचना विभागका महानिर्देशक वीरबहादुर राईले फोटो पत्रकार क्लबलाई राज्यका तर्फबाट सहयोग र सहकार्य हुनुपर्ने बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्टले अहिलेसम्म मारिएका र कुटाइ खाएको पत्रकारले न्याय नपाएको भन्दै भूकम्पका बेला ज्यान जोखिम मोलेर फोटो पत्रकारले फोटो खिचेको बताए।

वरिष्ठ फोटो पत्रकारद्वय गोपाल चित्रकार, चन्द्रशेखर कार्कीले पत्रकारलाई भन्दा फोटो पत्रकारलाई बढी सुरक्षा चुनौती हुने भन्दै फोटो पत्रकारलाई सुरक्षासम्बन्धी तालिम अनिवार्य गर्नुपर्ने बताए।

प्रदर्शनीमा विभिन्न फोटो पत्रकारले खिचेका ४५ फोटो प्रदर्शनमा राखिएको छ ।