राजनीति

रास्वपाले ३ प्रदेशका महामन्त्री हटायो, कर्णालीको समिति नै विघटन



काठमाडौँ, १५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका महामन्त्रीलाई हटाएको छ भने कर्णालीको सम्पूर्ण समिति नै विघटन गरेको छ ।

कोशीका महामन्त्री लालबिक्रम थापा अनियमिततामा मुछिएको र गण्डकीका महामन्त्री अशोक खड्का र सुदूरपश्चिमका महामन्त्री भोजराज जोशी कार्यक्षमता कमजोर भएको भन्दै जिम्मेवारीबाट हटाइएका हुन् ।कर्णालीको प्रदेश समिति र जिल्ला समितिहरुले पनि संगठन विस्तार गर्न नसकेकाले विघटन गरिएको रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।कोशीका महामन्त्री थापाले सनमुन प्लाजाका नाममा सुनसरीको इटहरी उपमहानगरपालिका–९ स्थित जनता माध्यमिक विद्यालयको जग्गा भाडामा लिएका थिए । तर पाँच वर्षसम्म भाडा नतिरेको विषय बाहिरिएपछि प्रदेश समितिले स्पष्टीकरण सोधेको थियो ।

चित्तबुझ्दो जवाफ नदिई सामाजिक सञ्जालमा आरोप प्रत्यारोपमा उत्रिएपछि केन्द्रीय अनुशासन आयोगको सिफारिसमा प्रदेश समितिले थापालाई हटाएको हो । ‘तिर्नुपर्ने कुरा मात्रै हो भने त्यो तिरिसकेपछि निलम्बन फुकुवा हुन्छ । अरु कुरा छ भने थप छानबिन गर्नुपर्ने हुन्छ’, पार्टीका सहमहामन्त्री बुर्लाकोटीले भने, ‘नतिर्ने नै नियत हो वा अरु केही पनि छ कि भनेर पार्टीले छानबिन गर्दैछ ।’

त्यस्तै गण्डकी प्रदेशका महामन्त्री अशोक खड्कालाई समय नदिएको, कार्यसम्पादन कमजोर भएको, गुट निर्माण गरेको लगायत आरोपमा ५ मंसिरमा बर्खास्तीमा परेका थिए । ‘उहाँको कार्यसम्पादन राम्रो देखिएन । बसोबास गरेको ठाउँहरुको पैसा नतिरेको कुराहरु आएका छन्’, सहमहामन्त्री बुर्लाकोटी भन्छन्, ‘जिम्मेवारी अनुसारको काम त हुनुपर्‍यो । नमस्ते खानका लागि पाएको जिम्मेवारी होइन ।’ अहिले गण्डकीको महामन्त्रीको भूमिकामा नवीन त्रिपाठी छन् ।

६ फागुनमा बसेको रास्वपाको सचिवालय बैठकले कर्णाली प्रदेशको कमिटी नै विघटन गरिदिएको छ । सभापति धिरज वली नेतृत्वको प्रदेश समिति एक वर्ष पूरा गरेलगत्तै विघटनमा परेको हो । वलीले संगठन निर्माणलाई गति दिन नसकेको स्वीकार्दै केन्द्रमा पत्र लेखेका थिए । ‘धिरजजीले संगठन निर्माणका लागि समय दिन सक्नुभएन ।

संगठन बनाउन दक्षता पनि हुनुपर्‍यो’, सहमहामन्त्री बुर्लाकोटी भन्छन्, ‘उहाँले समय दिनसक्ने अवस्था आएन । यही बीचमा धेरै समय उहाँ भारतमा बस्नुभयो ।’ कर्णालीमा २८ माघ २०७९ मा प्रदेश समिति गठन गरिएको थियो । कर्णालीका जिल्ला समितिहरु पनि प्रभावकारी नभएपछि विघटन गरिएको रास्वपाले जनाएको छ । केन्द्रबाट नै संगठन परिचालन हुने गरी तत्कालका लागि ‘कर्णाली विशेष अभियान’ सञ्चालन गर्ने रास्वपाले निर्णय गरेको छ । तीन महिनासम्म अभियान सञ्चालन गरेर जेठ मसान्तसम्म सक्ने रास्वपाले जनाएको छ ।सुदूरपश्चिम महामन्त्री भोजराज जोशीलाई हटाएर पारस बाहुनलाई जिम्मेवारी दिइएको छ । जोशीलाई भने केन्द्रीय विधेयक मन्थन विभागको सदस्य बनाइएको छ ।उनीमाथि पनि कार्यक्षमता देखाउन नसकेको कारण देखाउँदै हटाइएको छ । कार्यकारी पद भएपनि जिम्मेवारी अनुसार भूमिका निर्वाह नगर्दा हटाउन परेको बुर्लाकोटी बताउँछन् ।

रास्वपाले हरेक साता प्रदेशका महामन्त्रीहरुसँग संगठनको अवस्थाको जानकारी लिने गरेको छ । संगठन निर्माण गर्न नसक्ने र खराब आचरण भएकालाई हटाउन नसके पार्टीमा भीडमात्रै जम्मा हुने भएकाले हटाउने गरिएको सहमहामन्त्री बुर्लाकोटी बताउँछन् । अनलाइन खबरबाट