ज्यान गुमाएकी विनिता फुयाल दाजु विजय फुयालसँगको तस्बिर
काठमाडौं, १ साउन । ‘एकछिन खेलेर आउँछु’ भन्दै जाने छोरीलाई सदाका लागि गुमाउनुपर्ला भनेर कुन बुबाआमाले सोच्लान् ? तर, राजधानी काठमाडौंको नेपालटारमा अव्यवस्थित ढलका कारण झंकनाथ फुयाँल दम्पतीले शुक्रबार साँझ छोरीलाई सदाका लागि गुमाउनुपरेको छ । फुयाँल दम्पतीले आँखै अगाडि पुतलीझैं यताउति गरिरहेकी छोरी ११ वर्षीया विनीतालाई गुमाउनुपरेको हो ।
स्थानीय युरेका माविमा कक्षा ३ मा अध्ययनरत विनीता सानिमाका छोरो आठ वर्षीय रिदमसँग खेल्दै थिइन्। साँझको ४ बजेको थियो। उनले भनिन्, ‘आमा, हामी एकछिन खेल्छौं है १’ उनका बुबा घरनजिकै रहेको रामजानकी मिठाई पसलमा व्यस्त हुनुहुन्थ्यो । ‘
सधैंजस्तै दिदी–भाइ खेल्न गए भनेर हामी ढुक्क थियौं तर १०–१५ मिनेटपछि रिदम आएर दिदीलाई ढलले बगायो भन्यो’, केही बेरअघि झरी परेर रोकिएको स्मरण गर्दै झंकनाथले भन्नुभयो, ‘हत्तपत्त पुग्दा केही थाहै भएन, सामुन्ने देखिने चौकीमा प्रहरीलाई फोन गरें, लगत्तै आएन। बगाएको देख्नेहरूले त्यो लेदो भेलमा जाने आँटै गरेनछन्।’
उहाँका अनुसार विष्णुमतिमा मिसिएको महादेव खोलाले चार–पाँच किलोमिटर पर पुर्याएको रहेछ । करिब दुई घन्टापछि विनीतालाई प्रहरीसहित स्थानीयले उद्धार गरेको जानकारी दिँदै उहाँले छाम्दा नाडी चलिरहेको पाएको सुनाउनुभयो ।
त्यसलगत्तै पिपुल्स हस्पिटल पुर्याएर पानी बान्ता गराएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज रिफर गरिदियो। साँझ करिब ७ बजेतिर शिक्षण अस्पताल पुर्याउँदा चिकित्सकले विनीतालाई मृत घोषणा गरेका थिए। विनीताका दाजु विजय भने कक्षा ६ मा अध्ययनरत छन्।
विनीता तारकेश्वरस्थित मामाघरमा बसेर कक्षा १ सम्म अध्ययन गरी दुई वर्षअघि मात्र बुबाआमासँग नेपालटार आएकी थिइन्। बोर्डिङ स्कुल युरेकाले सरकारी विद्यालय पढेको भन्दै कक्षा १ मै भर्ना लिएकाले अध्ययन ढिलो भएको बुबा झंकनाथको भनाइ छ।
सामाखुसीमा पनि
सामाखुसीमा शुक्रबार विद्यालयबाट फर्किएर सडकमा हिँड्दै गरेकी एक बालिका पनि ढलमा डुबेर केही बेर गायव भइन् । उक्त घटना यति बेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । ढलले हुत्याएर एकछिनमै बृहष्पति विद्यासदनको कक्षा ९ मा अध्ययनरत सत्या सापकोटालाई केही पर पुर्याए पनि पैदलयात्रुले उनलाई उद्धार गरेका थिए ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निर्वाचनका बेला सामाखुसी क्षेत्रमा पुग्दा आफू निर्वाचित भए सडक सुधारका लागि तत्कालै काम गर्ने आश्वासन बाँडेका थिए। उहाँले एक सय दिनमा १०१ काम गर्ने भनी जारी गरेको घोषणापत्रमा पनि सडकका खाल्डाखुल्डी पुर्नेलगायत बुँदा छन्। अन्नपूर्णामा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्