रामेछाप, २ साउन । लिखु गाउँपालिका वडा नम्बर–६, साँघुटारकी कृष्णा तामाङ श्रीमान् र छोरीलाई बाढीले बगाएपछि गहिरो पीडामा हुनुहुन्छ । श्रीमान् र छोरीलाई सम्झँदै कृष्णा छिन–छिनमै रुनुहुन्छ, छोराछोरीको लालनपालनको चिन्ता गर्नुहुन्छ ।
दिउँसो परिवारसँगै बिताएका कृष्णाका श्रीमान् अशोक भनिने विमान तामाङलाई शनिबार राति छोरीसँगै बाढीले बगाएर बेपत्ता बनाएको छ ।
विमानले पुरानो जस्ताले छाएको टहरामा पानी चुहिने भएपछि दिउँसो प्लास्टिक थप्नुभएको थियो । उहाँको परिवारले दुई लाख रुपैयाँमा एक रोपनी खेत बन्धकी कमाउँदै आएको छ । विमानले खेतबाट मकैसमेत भाँचेर ल्याउनुभएको थियो । साँझ खाना खाएपछि भने उहाँ छट्पटाइरहनुभएको थियो ।
राति करिब ९ बजेदेखि नै पानी दर्किएको थियो । उहाँ भने आफूलाई धेरै गर्मी भएको भन्दै भित्र–बाहिर गर्दै हुनुहुन्थ्यो । छिमेकीले ‘सधैं पर्ने पानी हो, डराउनुपर्दैन अब सुत्दा हुन्छ’ भने पनि उहाँ मान्नुभएको थिएन ।
राति १ बजेतिर घरमाथि रहेको कुलोमा भेल बढेपछि घरभित्र पनि पस्यो । उहाँले श्रीमतीलाई ‘कुलो ठूलो आएजस्तो छ, पानी मार्न खोलामा जानुर्पयो’ भन्नुभयो । कृष्णाले भने केही नगर्ने भन्दै सुत्न भन्नुभयो । तर, उहाँले बाहिर सुतिरहेकी १३ वर्षीया छोरी मनिलालाई आफूसँग जान जिद्धि गर्नुभयो ।
उहाँले खोलामा गएको केही समयपछि छोरालाई फोन गरेर ठूलो बाढी आएको सुनाउँदै आमालाई सुरक्षित स्थानमा सार्न भन्नुभयो । उहाँले आफूहरू बाँसघारीमा आइपुगेको जानकारी गराउनुभयो ।
‘हामी उठेर छिमेकीको घरमा गयौं तर श्रीमान् र छोरी लामो समय फर्कनुभएन, हामी आत्तियौं’, कृष्णाले गहभरि आँसु पार्दै भन्नुभयो, ‘छिमेकीहरू त्यसतर्फ जानुभयो तर बाँसघारी नै बगाइसकेको रै’ छ । हामीलाई सुरक्षित स्थानमा सर्न लगाउनुभयो तर उहाँ र छोरीलाई बाढीले बगायो ।’
एक छोरा र चार छोरीसहितको तामाङ परिवार गाउँमा जग्गाजमिन नभएपछि फर्पुबाट १८ वर्षअघि खिम्ती बजारमा झरेको थियो । टाउको र पेटको बिरामी कृष्णालाई अर्को साता उपचारका लागि राजधानी लैजाने तयारी थियो ।
‘घर बनाएको पैसा अर्को साता आउँछ, त्यसपछि काठमाडांैमा उपचारका लागि लैजाउँला, अहिलेलाई जसोतसो बसौं’, श्रीमान्ले भनेको सम्झना गर्दै कृष्णाले भन्नुभयो, ‘अब मलाई कसले उपचार गराउला रु बरु छोरीको साटो म आफैं जानुपर्ने रै’छ । म त बिरामी छु, थलिएर मरौंला तर यो बालबच्चाको पालपोषण कसले गर्छ भन्ने चिन्ताले धेरै सताएको छ ।’
उहाँहरूकी जेठी छोरी सुनमतीको विवाह भइसकेको रहेछ । एक छोरा र दुई छोरी साथमा छन् । छोरा विकास कक्षा १२, छोरीहरू सुनिता र मनमाई कक्षा २ मा पढ्छन् । बन्धकीमा कमाउँदै आएको खेतसमेत बाढीले बगाएको छ । साथमा केही मकैबाहेक अन्य नभएको कृष्णाको भनाइ छ । दाजु र छोरीको शव दिनभर खोजी गर्दा पनि नभेटिएको भाइ शम्भु तामाङले जानकारी दिनुभयो ।
सोही वडाको लहरेनीमा माछापालन गर्दै आउनुभएका ५८ वर्षीया देवीकुमारी केसीको घर पनि बाढीले बगाएको छ । बाढीले देवीकुमारीसँगै गेलु घर भएका ५६ वर्षीय वासुदेव कार्कीलाई बगाएको छ । वासुदेवको शव फेला परेको रामेछापका प्रहरी नायव उपरीक्षक कुमोद ढुंगेलले जानकारी दिनुभयो ।
श्रीमान्ले कान्छी भित्र्याएपछि देवीकुमारी छुट्टिएर खोला किनारामा घर बनाएर बस्दै आउनुभएको थियो । उहाँको घरको निशानासमेत छैन । देवीकुमारी सात वर्षअघि सो स्थानमा घर बनाएर बस्न थालेको श्रीमान् इन्द्रले जानकारी दिनुभयो । बाढीले ६ रोपनी खेतसमेत बगाएको उहाँले बताउनुभयो । वासुदेव चार दिनअघि गेलुबाट रोपाइँका लागि सो ठाउँमा झर्नुभएको थियो ।
सोही वडाको गोकुलगंगा र लिखुको सिमानामा रहेको छतिउने गाउँमा बाढी पस्दा एक जनाको ज्यान गएको छ भने नौ जना घाइते भएका छन् । मृत्यु हुनेमा ७२ वर्षीया बालकुमारी खत्री रहेको स्थानीय टंक खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार घरनजिकै रहेको छतिउनी खोला पुलमा थुनिएर बस्तीमा बाढी पस्दा चार घरमा क्षति र्पुयाउनुका साथै एक घर बगाएको छ । बालकुमारीको शव घरनजिकै भेटिएको हो । दुई छोराकी आमा बालकुमारी बुहारीसँगै बस्दै आउनुभएको थियो ।
अन्नपूर्ण पोस्ट्मा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्