Banner News

साउनको पहिलो सोमबार पशुपतिनाथमा डेढ लाख भक्तजन



काठमाडौँ, २ साउन । साउनको पहिलो सोमबार आज सवा दुई लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गरेका छन् ।

साउनको पहिलो सोमबार परेकाले आज पशुपतिनाथ मन्दिरमा विशेष पूजा गराउने भक्तजन पनि बढेको पशुपति क्षेत्र विकास कोषका निर्देशक एवम् पशुपतिनाथ मन्दिर र गुठी शाखा प्रमुख भोला सिटौलाले बताउनुभयो । “आज पशुपतिनाथ मन्दिरमा २१० र वासुकी मन्दिरमा १०० भक्तजनले विशेष पूजा गरेका छन्, यो संख्या सामान्य दिन १०० र ५० को हाराहारीमा हुन्थ्यो, उनले भने।

साउने सोमबारको अवसर पारेर नायिका मनीषा कोइरालाले आज पशुपतिनाथ मन्दिरमा रु ११ हजारको लघु रुद्राभिषेकसहित विशेष पञ्चामृत पूजा गराउनुभएको कोषले जनाएको छ । कोषले भक्तजनलाई सहज र सरल रुपमा दर्शन गर्ने व्यवस्था मिलाएको जिकिर गरे पनि दर्शनार्थीले भने भूकम्पले जीर्ण बनेका संरचना भत्काएर राखिएको तथा पशुपति क्षेत्र वरपरको सडकमा ढल निर्माण र कालोपत्र एवम् ढलानको काम भइरहेकाले आवतजावतमा समस्या परेको गुनासो गरेका छन् ।

ललितपुर गोदावरीबाट आउनुभएकी रमा आचार्य पशुपतिमा अव्यवस्था नसुहाउने भएकाले सडकका समस्या समाधान गरिनुपर्ने बताउछन । पशुपतिनाथमा विशेष गरी महिला भक्तजन हरियो र रातो पहिरनसहित लाममा बसेका थिए । साउनको सोमबार व्रत बसी पशुपतिनाथमा जलार्पणसहित पूजा एवम् दर्शन गरेमा अटल सौभाग्य प्राप्ति भई मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । आजैदेखि सुन्दरीजलबाट पशुपतिनाथ मन्दिरसम्म शुद्ध जल ल्याई चढाउने बोलबम यात्रा पनि सुरु भएको छ । यस्तो यात्रा साउनभर र विशेषगरी सोमबार बढी हुने गरेको छ