पर्यटन

गोसाइँकुण्ड तीर्थका लागि खाद्यान्न भण्डारण



रसुवा, ३ साउन । गोसाइँकुण्ड पुग्ने भक्तजनलाई भोजनको व्यवस्था मिलाउन धार्मिक मार्गका विभिन्न स्थानमा आवश्यक खाद्यान्न ढुवानी गरिएको छ ।

यस वर्षको गोसाइँकुण्ड मेला यही साउन १३ गते जनैपूर्णिमाको दिन परेको छ । चन्दनबारीका होटल व्यवसायी पासाङघ्युर्मी तामाङका अनुसार मुख्य पर्वका दिन धार्मिकस्थलमा ठूलो भीड लाग्ने भएकाले दाल, चामल, नुन, तेल, चाउचाउ, बिस्कुट, चिउरा, दालमोठलगायत आवश्यक खाद्य सामग्री ढुवानी गरी भण्डारण गरिएको हो ।

धार्मिक मार्गका विभिन्न ठाउँमा १५ हजारभन्दा बढी भक्तजनलाई पुग्ने खाद्यान्न ढुवानी भइसकेको बताउँदै तामाङले विद्यमान होटलको सुधार र अस्थायी छाप्रो बनाउने काम भइरहेकाले कुनै पनि यात्रुलाई बासको समस्या नपर्ने स्पष्ट गरे ।

जिल्लाको उच्च भागमा पर्ने तीर्थको उचाइ समुद्री सतहदेखि १४ हजार १०० फि छ । तीर्थयात्रा गर्दा बाक्लो स्विटर र कानेटोपी लगाउन आग्रह गरिएको छ ।