काठमाडौँ, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले कानुन बनाउँदा सबै वर्ग र भूगोललाई ख्याल गरिनुपर्ने बताएकी छन् ।
आज प्रतिनिधि सभाको बैठकमा विद्युतीय व्यापार सम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिंदै उनले राज्यले एकातिर १ सय रुपैयाँमा कम्पनी खोल्न सक्ने नीति लिएको छ । अर्कोतिर विद्युतीय व्यापार गर्नका लागि आफ्नै वेबसाइट, एप बनाउनुपर्ने जस्ता प्रावधान राखिएको भनी यसमा मेल नरहेको बताइन् ।
उनले भनिन्, ‘आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा पूर्व अर्थमन्त्रीज्यूले बुँदा नम्बर ७० मा न्यूनतम १ सय रुपैयाँ अधिकतम् पुँजी घोषणा गरेर कम्पनी खोल्न सक्ने कानुनी व्यवस्था गरिने भन्नुभएको थियो । यो बमोजिम १ सय रुपैयाँ पुँजी भएको कम्पनीले कसरी वेबसाइट, एप र सफ्टवेयर बनाउन सक्छ ?’ ।
उनले यसरी काठमाडौँ लाई हेरेर मात्रै कानुन बनाउन नहुने बताएकी छन् । सांसद गौतमले भनिन्, ‘हामीले काठमाडौंलाई हेरेर कानुन बनाउने होइन नेपालका दूरदराज पनि आँखा लगाएर अगाडि बढ्नुपर्छ ।’
प्रस्तावित विधेयकलाई नव उद्यमी युवाको आँखाले पनि हेरिनुपर्ने उनको आग्रह छ । उनी भन्छिन्, ‘युवाहरू आर्थिक हिसाबले आत्मनिर्भर हुन विदेशिएका छन् । यो विधेयक नव उद्यमीको भावना समेट्ने गरी पारित गर्न सक्ने हो भने युवा देशमै आत्मनिर्भर भएर बस्न सक्छन् र आर्थिक समृद्धिमा योगदान पुग्न सक्छ । यो राष्ट्रले जनसांख्यिक लाभ लिन सक्ने ठूलो मौका पनि हो ।’
प्रतिक्रिया दिनुहोस्