दैलेख, ५ साउन । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकास्थित लैनचौरमा शान्ता कठायत नाम चलेकी माता अर्थात् धामी हुनुहुन्छ । गाउँले बिरामी हुँदा होस् वा समस्यामा पर्दा उनै माताको शरणमा पुग्छन् । आफूकहाँ हेराउन आउनेलाई माताको एउटै सुझाव हुन्छ, ‘महिनावारी नबार्दा समस्या आइलाग्यो, अब घरमा छाउ बार्नू ।’
गाउँमा नजिकै अस्पताल छैन । भएका स्वास्थ्य संस्थामा पनि भरपर्दो उपचार हुँदैन । केही उपाय नलागेपछि गाउँलेहरू माताको शरणमा पुगेर उपचारका लागि हारगुहार गर्छन् । माताको उपचार गर्ने एउटै मन्त्र छ । उपचारका लागि आउनेलाई उहाँ ‘छाउ बार्न’ सुझाव दिनुहुन्छ ।
गाउँलेहरू पनि माताकै विश्वासमा छाउ बार्न तयार हुन्छन् । महिनावारी हुँदा छुइछाई नगर्न माताले दिएको सुझावअनुसार नै स्थानीयले महिनावारीको बेलामा महिलालाई छाउगोठमा राख्छन् ।
गाउँकै धामीको विश्वास र देउता रिसाउने भ्रमका कारण यहाँ छाउ बार्ने संस्कारले जरा गाढेको छ । बेलुकी छाउगोठमा सुतेकी किशोरी बिहान मृत भेटिँदासमेत स्थानीय सचेत छैनन् । बरु गाउँका धामीझाँक्रीले भनेबमोजिम नै छाउ बार्न तयार छन् । स्थानीय धामीझाँक्रीका लागि पनि छाउगोठ उपचारको गतिलो मन्त्र बनेको छ ।
सामान्य रुघाखोकी र ज्वरो आउँदा होस् वा पशु बिरामी हुँदा, धामीले छुइछाइ नै मुख्य कारण देखाउँदै आएका छन् । अनि उपचार मन्त्रको रूपमा उनीहरूले छाउ बार्न सुझाव दिने गरेका छन् । धामीको यही गलत सुझाव र सल्लाहका कारण पनि छाउपडी उन्मूलनमा चुनौती थपिएको छ ।
गाउँलेले माताको रूपमा पुकार्ने शान्ताको घरमा पुग्दा केही मान्छे पनि आइपुगे । बच्चा बिरामी भएपछि उपचारको खोजीमा उनीहरू त्यहाँ पुगेका थिए । माताले अक्षता र भेटी राख्न भनेपछि उनीहरूले सोहीअनुसार गरे ।
माता केही बेरमै धामी काम्नुभयो । सोही क्रममा उहाँले भन्नुभयो, ‘अरू सबै राम्रो छ तर घरमा छुइछाइ भएको रहेछ । घरमा महिला पाखा सरेका बेला होस पुर्याउनू, अबदेखि छाउ बार्नू ।
धामीले भनेपछि उनीहरूले पनि सोहीअनुसार गर्ने बाचा गरे । अभिभावकको भनाइअनुसार बच्चालाई रुघाखोकीसँगै ज्वरोको समस्या थियो । तर, माताले छाउ बार्नू भन्दै सुझाव दिएपछि उनीहरू त्यहाँबाट फिर्ता भए । स्थानीय बासिन्दाका अनुसार गाउँका धामीले जे समस्या पर्दा पनि छुइछाइकै कारण देखाउने गरेका छन् । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्