Banner News

प्रतिपक्ष र सरकार दुवै पक्षबाट संसद् अवरोध



काठमाडौँ, २७ चैत । प्रमुख प्रतिपक्ष दल कांग्रेस र सत्तापक्ष दलहरूका सांसदले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेका छन् ।  आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुखले कांग्रेस सांसद सुशीला थिङले बोलेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झालाई बोल्न दिएपछि कांग्रेस सांसदहरूले अवरोध गरे ।

त्यसपछि सत्तापक्षका सांसदहरू पनि आसनबाट उभिएर बैठक अवरुद्ध गरेका छन् । सभामुख देवराज घिमिरेले विधायिकी काममा ढिलाइ भएको, सांसदहरूलाई बोल्न नियमावली अनुसार समय दिएको, संसद् बैठक सञ्चालनको वातावरण बनाउन र सांसद झालाई बोल्न दिन आग्रह गरेका छन् ।

बैठक १५ मिनेटका लागि स्थगित भएको छ । नेपाली कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक आजै १५ मिनेटपछि बस्नेगरी स्थगित गरेका हुन् । 

बैठकमा नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि समिति गठन गर्नुपर्ने माग गरेको थियो ।