शैक्षिक

पुष्पलाल स्मृति दिवसका अवसरमा वृक्षरोपण



पोखरा, ५ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको ३९औँ स्मृति दिवसका अवसरमा पोखरा लेखनाथ महानगरपालिका–२१ फेदीपाटनस्थित पोटेरामा आज वृक्षरोपण गरियो ।

पुष्पलाल अध्ययन केन्द्र नेपाल एवम् नेकपा एमाले कास्कीको आयोजनामा पोटेरामा चाँप, कपूर, धुपी, मसला, राजवृक्ष, अशोका, गुलमोहर, कल्की, वीरेन्द्रफुल, नारेश्वर, इपिलइपिललगायत विभिन्न जातका ४०० वटा बिरुवा रोपिएको थियो ।

अध्ययन केन्द्रका केन्द्रीय उपाध्यक्ष एवम् पूर्वमन्त्री खगराज अधिकारीले नेपालको कम्युनिस्ट आन्दोलनमा पुष्पलालले पु¥याउनुभएको योगदान युगौँसम्म रहिरहने बताए ।

फुस्रेखोला किनाराका लगभग १५० रोपनी क्षेत्रफलमा गरिएको वृक्षरोपणका लागि आवश्यक बिरुवा जिल्ला वन कार्यालय कास्कीले उपलब्ध गराएको थियो । वृक्षरोपण गर्नुअगाडि रोपिएका बिरुवाको संरक्षण र संवद्र्धनका लागि सो स्थानमा पुगेका नवनिर्वाचित जनप्रतिनिधिले श्रमशिविर सञ्चालन गरेर गाईवस्तु पस्ने गौडामा बान्दो लगाएका थिए ।

कार्यक्रममा एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासी, प्रदेश ४ का उपसंयोजक गणेश तिमिल्सिना, वैकल्पिक पोलिटब्यूरो सदस्य जगत विश्वकर्मा, पोखरा उपमहानगरपालिकाका प्रमुख मानबहादुर थापा, एमाले जिल्ला अध्यक्ष कृष्ण थापा लगायतकाले वृक्षरोपण गरेकाथिए।

सोही स्थानमा लगभग एक करोडको लागतमा तीनतल्ले पुष्पलाल अध्ययन केन्द्र भवन निर्माण भइरहेको छ ।