Banner News

एमालेका १३ समस्या समाधान गर्न २० कार्ययोजना



काठमाडौँ, ९ वैशाख । नेकपा एमालेले पार्टी निर्माणमा देखिएका १३ वटा समस्यालाई समाधान गर्न २० बुँदे कार्ययोजना अघि सारेको छ ।

ललितपुरको गोदावरीमा जारी एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा महासचिव शंकर पोखरेलले प्रस्ताव गरेको सांगठानिक प्रतिवेदनमा यस्तो कार्ययोजना अघि सारेका हुन् ।

एमालेले देखेका समस्यामा पार्टी नेता कार्यकर्ताहरूमा अध्ययन र प्रशिक्षणको कमी, पार्टी सदस्यताको मापदण्ड पालनमा समस्या, ठुला आकारका कमिटी सञ्चालनमा समस्या, वैधानिक व्यवस्थाअनुसार अधिवेशन आयोजना र व्यवस्थापन, दक्षिणपन्थी अवसरवाद, सङ्गठनात्मक अराजकता र गुटबन्दीको अवस्था, गैर–भौगोलिक क्षेत्रका कामको संयोजनमा समस्या, पार्टी कार्यकर्ताको मूल्याङ्कन समस्या,पहिचानको मुद्दामा केन्द्रित हुने समस्या, दोहोरोपनाको समस्या, काठमाडौँ उपत्यकाको हकमा पार्टी कामको व्यवस्थापनको समस्या, परिभाषित काम र परिणाममुखी कार्यविभाजनको समस्या, जनसंगठनको प्रभावकारी कार्यविभाजन अभाव र आदर्श र व्यवहारबिच भिन्नता रहेका छन् । 

त्यसैगरी विधिसम्मत पार्टी सञ्चालन, पार्टी सदस्यता विस्तार र गुणस्तरमा वृद्धि, दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकताका विरुद्ध वैचारिक सङ्घर्ष, आर्थिक सामाजिक विकासमा अगुवाइ गर्ने पार्टी निर्माण, जनसंगठनहरूबिच घनिष्ठ सम्बन्ध, पार्टी जिवनको सिर्जनात्मक प्रयोग, असल आचरण र जीवनशैलीको विकास, जनसम्बन्ध विस्तार र विकास, सामाजिक र सामुदायिक संगठनमा पार्टी नेतृत्व स्थापित, समग्र प्रवासको काम व्यवस्थापन, संसदीय क्षेत्र,सरकार र पार्टी कामको संयोजन एमालेको कार्ययोजनामा समेटिएका छन् । यी कामहरू गरिरहेको दाबी गरेको एमालेले अनुशासन आयोगको रिपोर्टमा भने यस विपरीतका गतिविधि मौलाएको उल्लेख छ ।

पार्टी संगठनात्मक कामलाई व्यवस्थित पार्न महासचिव पोखरेलको प्रतिवेदनमा २० वटा कार्ययोजना अघि सारिए पनि जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले जनआधारित कार्यकर्ता पार्टी निर्माणका ६ वटा समस्या पहिचान गरेका छन् । अध्यक्ष ओलीले पहिचान गरेका यी ६ वटा समस्याको समाधान गर्न प्रतिनिधि परिषद् बैठकमा सहभागीहरूको जवाफ मागिएको छ ।

१. पार्टी सदस्यता वितरण, नवीकरण र परीक्षणका सम्बन्धमा

२.प्रतिनिधि छनोट, अधिवेशन र नेतृत्व चयनका सम्बन्धमा

३. कमिटी सञ्चालन,चेन अफ कमाण्ड र कार्यकर्ताको मूल्याङ्कन

४.कार्यशैली, जीवनशैली र कार्यकर्ताको आचरण

५.आर्थिक सामाजिक रूपान्तरण र जनचासो सम्बोधनको सवाल

६.निर्वाचनमार्फत निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने सम्बन्धमा