मनोरञ्जन

गीतकार काजीराजको ‘तर्कना’ गीति संग्रह सार्वजनिक



काठमाडौं, ६ साउन । नेपाल नाट्य तथा संगीत प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले गीतकार काजीराज शाक्यको ‘तर्कना’ गीति संग्रहको बिहीबार साँझ राजधानीमा लोकार्पण गरे ।
जीवनका भोगाइ, पे्रम, समर्पण र सामाजिक परिवेशलाई उजिल्याइएका १० वटा गीत यस एल्बममा संगृहीत छन् । गायक रबिन शर्मा, संगीता शाक्य थापा संगीता राना प्रधान, आनन्द कार्की, रामकृष्ण ढकाल, यम बराल, अञ्जु पन्त, निशा देसार, मिलन अमात्य र हरिशरण साय्मीले यसमा स्वर दिएका छन ।
यस एल्बममा गीतकार स्वयं र अर्का संगीतकार हरिशरण साय्मीले संगीत भर्नुभएको छ । विन्धवासिनी म्युजिक प्रालिले बजारमा ल्याएको यो गीति संग्रहको मूल्य रु २५० रहेको छ ।
यो शाक्यको चौथो सांगीतिक कोशेली हो । यसअघि उहाँले ‘झंकार’, ‘बैसालु यौवन’ र ‘नौलो तरंग’ नामक गीति संग्रह नेपाली संगीत बजारमा ल्याइसक्नुभएको छ । नेपाल भाषाको ‘निभाः लुईवं’ उहाँको पहिलो गीति संग्रह हो जुन विसं २०५६ मा बजारमा आएको थियो ।
सो अवसरमा कुलपति श्रेष्ठले जीवनका तितामिठा भोगाइलाई गीतकारले उत्कृष्ट शब्द चयनबाट अभिव्यक्त गर्न सकेको भन्दै सर्जकको प्रशंसा गरे ।
विन्धवासिनी म्युजिक प्रालिका प्रबन्ध निर्देशक सुवास रेग्मीले स्रष्टा र व्यवसायी ढुँगा र माटो जस्तै रहेको र आफ्नो कम्पनीले स्रष्टालाई थोरै भएपनि लेखकस्व प्रदान गर्र्ने जमर्को गर्दैआएको बताए।
गीतकार शाक्यले अर्काको मनमा गुम्सिरहेका भावलाई आफ्नै भोगाइसँग जोडेर आफूले तर्कना गर्ने प्रयास गरेको विचार व्यक्त गरे ।