काठमाडौँ, ७ साउन । सरकारमा सहभागिता र संविधान संशोधनका विषयमा केन्द्रीय कार्यसमिति बैठकबाट समेत राप्रपाले केही निर्णय लिन सकेन ।
‘हामीले सरकारमा जाने विषयमा कुनै निर्णय लिएका छैनौँ ।
प्रधानमन्त्रीबाट सरकारमा सहभागिताका लागि प्रस्ताव आएपछि पार्टीको नीतिलाई आधार मान्दै कार्यसम्पादन समितिले उपयुक्त निर्णय लिन्छ,’ अध्यक्ष कमल थापाले बैठकपछि गरेको पत्रकार सम्मेलनमा भने । केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता पशुपतिशमशेर राणा उपस्थित भएका थिएनन् ।
संविधान संशोधनमा सकारात्मक
थापाले राप्रपा संविधान संशोधनका लागि लचिलो बन्ने जानकारी दिए । तर, यो विषयलाई पनि कार्यसम्पादन समितिले नै टुंगोमा पु¥याउने उनको भनाइ छ । ‘संविधान संशोधनका विषयमा हाम्रा केही सांसदहरू असन्तुष्ट हुनहुन्छ,’ थापाले भने, ‘हामी यसलाई पनि निराकरण गर्दै पार्टीलाई एकताबद्ध बनाउन लाग्छौँ । यसको जिम्मा पनि कार्यसम्पादन समितिलाई नै दिइएको छ ।’
संविधान निर्माणका क्रममा संविधानसभा बहिष्कार गरेका मधेसकेन्द्रित दल तथा आन्दोलनरत विभिन्न समूहलाई संविधानको मूल प्रवाहमा ल्याउन तथा मधेसका उदार राजनीतिक शक्तिहरूलाई राष्ट्रिय राजनीतिको मूल प्रवाहमा समेटेर अतिवादी तत्वलाई अलग्याउने राप्रपाको निर्णयमा उल्लेख छ ।
यसका लागि सबै राजनीतिक दलहरूका बीचमा साझा धारणा र सहकार्य आवश्यक रहेको राप्रपाले जनाएको छ । नयाँपत्रिकामा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्