समाचार

विष्णुमती सफाइ अभियान १५० हप्तामा



काठमाडौँ, ७ साउन । विष्णुमती सफाइको १५०औँ हप्तामा आज गोंगबु नयाँ बसपार्क क्षेत्रमा विशेष सफाइ गरी नौ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

सफाइमा तीन हजार ५०० को सहभागिता थियो । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पनि सफाइमा सहभागी भएका थिए ।

सफाइपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रकृतिलाई बिगार्ने क्रम बढेकाले सुधार्न सफाइ अभियानको योगदान महत्वपूर्ण हुने बताए । प्रदूषणले रोग निम्त्याउने भएकाले पनि सफाइमा सबैको सहभागिता हुनुपर्नेमा उहाँले जोड दिए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले उपत्यकामा सफाइ अभियानबाट देखिने काम भएको बताउँदै राजधानी सहरको प्रतिष्ठा बढाउन पनि सफाइ अभियानलाई निरन्तरता दिइनुपर्नेमा जोड दिए ।

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री गिरिराजमणि पोखरेलले नदी संस्कृतिको अंग भएकाले सहर जोगाउन नदी संरक्षण गरिनुपर्ने धारणा व्यक्त गरे ।

राप्रपाकी नेत्री कुन्तीकुमारी शाहीले उपत्यकाको सभ्यताको स्रोत नदी संस्कृतिलाई जीवन्त बनाउन सफाइ अभियानले महत्वपूर्ण भूमिका खेलेको बताए ।