काठमाडौँ, २० वैशाख । चालु आर्थिक वर्षमा सूचना तथा सञ्चार क्षेत्रको वृद्धिदर ४.९१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको वार्षिक लेखा तथ्यांक प्रतिवेदनले उक्त अनुमान गरेको हो । कम्प्युटर प्रोगामिङ एवं इन्फर्मेसन सर्भिससम्बन्धी क्रियाकलापमा भएको वृद्धि, इन्टरनेट सेवा प्रदायकको कारोबार र ताररहित सञ्चार सेवामा भएको वृद्धिका कारण यस क्षेत्रमा सुधार हुने कार्यालयको अनुमान छ ।
गत आव २०७९/८० मा यस क्षेत्रको वृद्धिदर ४.१५ प्रतिशत रहने संशोधित अनुमान थियो । आव २०७८/७९ को अन्तिम तथ्यांकअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ४.१९ प्रतिशत कायम गरिएको हो । सञ्चार तथा सूचना प्रविधि क्षेत्रको कुल उत्पादन २ खर्ब ४५ अर्ब १० करोड २० लाख रुपैयाँ हाराहारी रहने आकलन गरिएको छ । यस्तो रकम अघिल्लो आवमा २ खर्ब ३२ अर्ब ८४ करोड ८० लाख रुपैयाँ बराबर रहेको प्रतिवेदनमा उल्लेख छ ।
पेसागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलापअन्तर्गत ४.१५ प्रतिशतको वृद्धिदर अनुमान गरिएको छ । ‘पछिल्लो समयमा विभिन्न प्राविधिक कार्यका लागि पेसागत संस्थासँग सेवा लिने प्रवृत्तिमा भएको बढोत्तरीले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा सामान्य बढ्ने प्रारम्भिक अनुमान गरिएको हो,’ प्रतिवेदनमा भनिएको छ । दक्ष युवा जनशक्तिमार्फत एप विकास र बिजनेस प्रोसेस आउटसोर्सिङजस्ता क्षेत्रमा नेपालले पछिल्लो समय प्रगति गरेको विभिन्न अध्ययनले देखाउँदै आएका छन् । नेपालका एक सयभन्दा बढी आईटी कम्पनीले अन्तर्राष्ट्रिय ग्राहकलाई उच्च गुणस्तरीय आईटी सेवा दिँदै आएको यस क्षेत्रका जानकारहरू बताउँछन् ।
गत साउनमा सर्वांगीण विकास अध्ययन केन्द्र (आईआईडीएस) ले सार्वजनिक गरेको अध्ययनले पनि नेपालमा इन्टरनेटमार्फत हुने सूचना प्रविधि सेवाको निर्यातबाट एकै वर्षमा ६७ अर्ब आम्दानी भएको देखाएको थियो । सूचना प्रविधि क्षेत्रमा दक्ष युवा जनशक्तिले नेपालमै बसेर विभिन्न देशका सूचना प्रविधिका प्रोजेक्टमा काम गर्ने गरेका छन् । आईआईडीएसको अध्ययनअनुसार सन् २०२२ मा नेपालबाट निर्यात भएको सूचना प्रविधि सेवा कुल गार्हस्थ उत्पादनको अनुपातमा १.४ प्रतिशत थियो । तथ्यांक कार्यालयको पछिल्लो लेखा तथ्यांकले चाहिँ चालु आवमा सूचना तथा सञ्चार क्षेत्रले कुल गार्हस्थ उत्पादन (जीडीपी) मा १.९४ प्रतिशत योगदान पुर्याएको जनाएको छ । आव २०७८/७९ मा २.०७ प्रतिशत योगदान पुर्याएकामा हाल खस्किएको देखिन्छ ।
पूर्वाधार विकास, लगानी विस्तार, दक्ष जनशक्ति, नीतिगत सुधार, ब्रान्डिङ र प्रवर्द्धन, उच्च गतिको ब्रोडब्यान्ड सेवा विस्तार लगायतमा भएको सुधारले नेपालको सूचना तथा सञ्चार क्षेत्रलाई सम्भावनायुक्त बनाएको विज्ञहरूको राय छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा हाल उच्च गतिको इन्टरनेट (ब्रोडब्यान्ड) कनेक्टिभिटी ९९ प्रतिशत छ । नेपालका कुल घरधुरीमध्ये ३० लाख अर्थात् ४५ प्रतिशतमा एफटीटीएच कनेक्सन उपलब्ध छ । देशभर प्रतिसेकेन्ड १.४ टेराबाइट डेटा खपत भइरहेको र यसमा टेलिकम अपरेटरमार्फत १५ प्रतिशत र इन्टरनेट सेवा प्रदायकमार्फत ८५ प्रतिशत रहेको प्राधिकरणले जानकारी दिएको छ ।
डिजिटल सेवा प्रवाहमा वित्तीय क्षेत्रको उदाहरण दिँदै कतिपयले नेपालका अन्य क्षेत्रमा पनि रूपान्तरण बाँकी रहेको औंल्याउने गरेका छन् । हालै सम्पन्न राष्ट्रिय लगानी सम्मेलनको एक सत्रमा विश्व बैंक समूहका सिनियर डिजिटल डेभलप्मेन्ट स्पेसलिस्ट सिद्धार्थ राजाले नेपालको वित्तीय क्षेत्रको प्रशंसा गरेका थिए । ‘म आफैंले अनुभव गरेको छु कि नेपालको अनलाइन वित्तीय सेवा प्रवाह समग्र एसिया प्यासिफिक क्षेत्रका कतिपय देशको भन्दा राम्रो छ,’ उनले भनेका थिए, ‘यो क्षेत्रमा नेपाल अगुवाका रूपमा उदाइरहेको छ । आर्टिफिसियल इन्टेलिजेन्स, बीपीओ र साइबर सुरक्षाका क्षेत्रमा पनि नेपालका कतिपय कम्पनीले विश्वबजारमै उल्लेखनीय हुने गरी काम गरिरहेका छन् ।’
सूचना प्रविधि क्षेत्रमा नेपालको सम्भावनाबारे प्रचार भइरहेको र अन्तर्राष्ट्रिय लगानीकर्ताले यसमा चासो देखाएको आभास हुन्छ । उदाहरणका लागि लगानी सम्मेलनको पहिलो ठूलो सम्झौता नै डेटा सेन्टरमा लगानी गर्नेबारे थियो । काठमाडौंको रामकोटमा सााढे तीन अर्बको डेटा सेन्टर स्थापना गर्न भारतको योट्टा डेटा सर्भिसेस र नेपालको बीएलसी होल्डिङ प्रालि एकजुट भएका छन् । चार मेगावाटसम्मको आईटी लोड प्रदान गर्न सक्ने भनिएको सो डेटा सेन्टर अबको २४ महिनाभित्र निर्माण गरिसक्ने भनिएको छ । टियर थ्री मापदण्डमा बनाइने भनिएको सो डेटा सेन्टर नेपालको सबैभन्दा ठूलो र पहिलो सुपर क्लाउड डेटा सेन्टर हुने अपेक्षा गरिएको छ ।
लगानी सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पनि डाटा सेन्टर, आईटी/टेक्नोपार्क, कम्प्युटर हार्डवेयर एसेम्बली प्लान्ट, आईसीटी ट्रेनिङ सेन्टर, डिजिटल सर्भिस सेन्टर, स्मार्ट फोन म्यानुफ्याक्चर तथा एसेम्बली प्लान्ट, इन्कुवेसन सेन्टर र फिल्म सिटी गरी आठवटा परियोजना सोकेस गरेको थियो । कान्तिपुरबाट
प्रतिक्रिया दिनुहोस्