अर्थ

सहकारी ठगी मुद्दामा एकमत विपक्षी दल



काठमाडौँ, ५ जेठ । सहकारी ठगीमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडानमा विपक्षी दलहरू एकमत भएका छन् । सहकारीको बचत अपचलन प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न भएको विषयलाई लिएर शुक्रबार छलफलमा जुटेका कांग्रेस, जनता समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादीले तत्काल छानबिन समिति बनाउनुपर्ने अडान लिएका हुन् । 

यसअघि प्रमुख प्रतिपक्ष कांग्रेसले मात्र गृहमन्त्री लामिछानेको संलग्नता र कारबाही सम्बन्धमा संसदीय छानबिन समितिको माग गर्दै आएकामा जसपा, राप्रपा र लोसपा पनि एक ठाउँमा उभिएपछि संसदीय छानबिन समिति बनाउन सत्तापक्षलाई दबाब परेको छ ।

विपक्षी दलहरूबीच शुक्रबार नयाँ बानेश्वरमा भएको बैठकमा सहकारीको रकम हिनामिनामा संसदीय छानबिन समिति बनाउनुपर्नेमा सबैको अडान रहेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । ‘हजारौं सर्वसाधारणको सहकारीको रकम हिनामिनामा संसदीय छानबिन समिति गठनमा विपक्षी दलले बटमलाइन बनाउने सहमति गरेका छौं’ उनले भने, ‘अब विपक्षी दलहरू संसदीय छानबिन समिति गठन नभएसम्म एक ठाउँमा उभिनेछौं ।’

राप्रपा महामन्त्री एवं सांसद धवलशमशेर राणाले सहकारी ठगीमा गृहमन्त्री लामिछाने संलग्न भएको उल्लेख गर्दै त्यसको छानबिनका लागि संसदीय छानबिन समिति बनाउनुपर्नेमा विपक्षी दलहरू एकै ठाउँमा रहेको बताए । ‘विभिन्न सहकारीमा भएको ठगीमा गृहमन्त्री लामिछानेसहित अरू संलग्नहरूको छानबिन गर्न संसदीय समिति गठन गर्नैपर्छ भन्नेमा हामीहरू एकमत भएका छौं’ उनले भने ।

पूर्वअर्थमन्त्री प्रकाशशरण महतले सहकारी ठगीमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै छानबिनको परिधिभित्र ल्याउनुपर्ने बताए । ‘गृहमन्त्री शक्तिमा भएकाले त्यसउपर भइरहेको छानबिनमा अनुचित प्रभाव पर्न सक्छ, त्यसैले संसदीय छानबिन नै आवश्यक छ,’ उनले भने । सत्ता र शक्तिमा हुनेहरू छानबिनमा नआउने तर सत्ता र शक्ति बाहिर हुनेहरू छानबिनमा आउने गरी समिति बन्न नहुने महतले बताए ।

कांग्रेससहित विपक्षी दलको माग र संसद् सुचारु गर्ने विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार ‘निर्णायक’ वार्ता गर्ने माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बताए । ‘प्रधानमन्त्रीज्यूले सरकारका तर्फबाट शनिबार कांग्रेससँग निर्णायक वार्ता गर्नुहुनेछ’ उनले भने, ‘कांग्रेसले पनि मेरो गोरुको बाह्रै टक्का गर्‍यो भने सहमति निस्कँदैन, केही लचिलो भएर समाधान निकाल्नुपर्छ ।’ पाण्डेले आफूमाथि लागेको आरोपबारे गृहमन्त्रीले संसद्मा बोल्न पाउनुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले जेठ ७ मा (सोमबार) संसद्बाट विश्वासको मत लिने कार्यतालिका भएकाले कांग्रेससित निर्णायक वार्ता गर्न लागेका हुन् । आइतबार संसद्को बैठक बस्ने बेलासम्म सहमति नभए सोमबार विश्वासको मत लिने कार्यतालिका प्रभावित हुन सक्नेछ । जसपा नेपालले सरकार छाडेकाले दाहालले विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्री दाहालले शुक्रबारै अपराह्न कांग्रेससँग वार्ताको तयारी गरेका थिए तर उनलाई दाँतको उपचार गर्न जान परेकाले बैठक शनिबारलाई सारिएको हो ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले पनि सहकारीमा भएको रकम हिनामिनामा संसदीय छानबिन समिति बनाउनुपर्ने निर्णय गरेको छ । ‘कतिपय सहकारी संस्थाले अधिकारको दुरुपयोग गरी सर्वसाधारण जनताको बचत अपचलन गरेर ठूलो धनराशि दुरुपयोग गरी आर्थिक तथा वित्तीय अपराध गरेको दुःखद घटना सार्वजनिक भइरहेका छन्, यस सम्बन्धमा गृहमन्त्रीको समेत संलग्नताको समाचार प्रकाशित भएको छ’ समाजवादीको निर्णयमा भनिएको छ, ‘यो बैठक समग्र समस्या समाधानका लागि छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही गरियोस् भन्ने माग गर्दछ ।’

दलहरूबीच संसद् सुचारु गर्ने विषयमा सहमति नभएपछि कांग्रेसले शुक्रबारको बैठक स्थगित गर्न माग गरेको थियो । बैठक सञ्चालनबारे सभामुख देवराज घिमिरे र प्रधानमन्त्री दाहालबीच छलफल भएपछि दलहरूबीच सहमति जुटाउने प्रयास भएको थियो । बिहीबार सभामुख देवराज घिमिरेले कांग्रेसको अवरोधबीच गृहमन्त्री लामिछानेलाई बोल्न समय दिएपछि दुई पक्षका सांसदबीच धकेलाधकेल भएको थियो ।

कांग्रेसले सभामुख घिमिरेले प्रतिनिधिसभा सञ्चालनमा तटस्थ भूमिका निर्वाह नगरेको आरोप लगाएको छ । संसदीय दलको शुक्रबार बसेको बैठकले बिहीबार सभामुखले विपक्षीको अवरोधबीच सदन सञ्चालन गर्न खोजेकामा आपत्ति जनाएको छ । बैठकले सरकार र सत्तापक्षलाई जनहितविरोधी कार्यमा नलाग्न चेतावनी दिने निर्णय पनि गरेको कांग्रेस प्रमुख सचेतक लेखकले जानकारी दिए ।

‘संसदीय इतिहास र परम्परामा विपक्षी दलले सभामा उभिएर विरोध जनाउँदा पनि बैठक अवरुद्ध भएको मानिन्छ । सम्माननीय सभामुखले प्रमुख विपक्षी दल वेलमा नारा लगाउँदा र अन्य सबै विपक्षी दल उभिएर विरोध जनाउँदासमेत बैठक सञ्चालन गर्ने कार्य उचित नभएको यो बैठक ठहर गर्दछ’ बैठकको निर्णयमा भनिएको छ, ‘संसदीय मान्यतामा सभामुखको भूमिका तटस्थ हुनुपर्दछ । तटस्थताका लागि सभामुखले आफू निर्वाचित भएको दलसँगका सबै सम्बन्ध र पदसमेत स्थगित गर्ने परम्परा छ । सभामुख सिंगो सदनको सभामुख हुनुपर्दछ । तसर्थ नेपाली कांग्रेस संसदीय दलको यो बैठक सम्माननीय सभामुखलाई सभामा निष्पक्ष र तटस्थ भूमिका निर्वाह गरी संसदीय मूल्य, मान्यता, परम्परा र इतिहासलाई कायम राख्न अनुरोध गर्दछ ।’

एमालेले भने कांग्रेस सांसदले असभ्य व्यवहार प्रदर्शन गरेको आरोप लगाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्‍मा कांग्रेसले असभ्य व्यवहार देखाएको बताए । बिहीबार प्रतिनिधिसभा बैठकमा कांग्रेस उपसभापति धनराज गुरुङको व्यवहार असभ्य भएको उनको भनाइ थियो । अध्यक्ष ओलीले शुक्रबार त्यसबारेमा संसद् भवन परिसरमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै कांग्रेसले उत्ताउलोपन देखाएर सत्तापक्ष र मन्त्री बसेको रोमा आएको बताए ।

‘भिडन्त त भएन । कांग्रेसले उत्ताउलोपन देखाएर हामी बसेको ठाउँमा आएर मन्त्रीको रोभित्र छिर्ने, म बसेको ठाउँमा आउने अनि अनेक अपशब्द बोल्ने ? यो सभ्य खालको व्यवहार भएन’ उनले भने । अध्यक्ष ओलीले कांग्रेस सांसदहरूले सरकारबाट हटाइदिएको आरोपमा आफूमाथि रिस देखाउँदै असभ्य व्यवहार गरेको दाबी गरे ।

राष्ट्रिय सभा बैठक शुक्रबार कांग्रेस सांसदले सहकारीमा भएको ठगीमा संसदीय छानबिनको माग गर्दै विरोध जनाएपछि स्थगित भयो । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाका प्रक्रिया अघि बढाउन नसकिएको भन्दै सभालाई सहज बनाउन सांसदहरूलाई आग्रह गरेका थिए ।

उनले सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई लिएर धन्यवाद ज्ञापनसमेत गर्न नपाएको र राष्ट्रपति कार्यालयबाट प्राप्त सूचनाहरू समेत पढेर सुनाउन नसकेको स्थिति बनेको भन्दै सहज रूपमा अघि बढाउने माहोल निर्माण गरिदिन आग्रह गरे । राष्ट्रिय सभाको अर्को बैठक आइतबार दिउँसो सवा एक बजे बस्ने कार्यतालिका छ । कान्तिपुरबाट